कक्षा १२ को नतिजामाथि प्रश्न, १० दिनमै ३२ हजारभन्दा बढीले दिए पुनर्योगका लागि आवेदन
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै देशभरका विद्यार्थीहरूले पुनर्योग र उत्तरपुस्तिका पुनःजाँचको माग गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा सार्वजनिक भएको १० दिनमै ३२ हजारभन्दा बढी विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका छन्।
धेरै विद्यार्थीले आफूले अपेक्षा गरेभन्दा निकै कम ग्रेड वा ‘ननग्रेड’ आएको भन्दै मूल्यांकनमा त्रुटि भएको दाबी गरेका छन्। यस विषयलाई लिएर विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए। उनीहरूको भनाइमा परीक्षा सकिएको छोटो समयमै नतिजा सार्वजनिक गर्न हतार गर्दा उत्तरपुस्तिका मूल्यांकनमा कमजोरी भएको हो।
यद्यपि राष्ट्रिय परीक्षा बोर्डले मूल्यांकन प्रक्रियामा कुनै लापरबाही नभएको दाबी गरेको छ। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार अनुभवी विषयगत शिक्षकबाट उत्तरपुस्तिका परीक्षण गरिएको हो भने केही समस्या परीक्षा फाराममा भएका विवरण नमिलेकै कारण देखिएको हुन सक्छ। उनले असन्तुष्ट विद्यार्थीलाई पुनर्योग, उत्तरपुस्तिका पुनःजाँच तथा अभिभावकको उपस्थितिमा उत्तरपुस्तिका अवलोकन गर्ने सुविधा उपलब्ध रहेको जानकारी दिइन्।
शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि नतिजा सार्वजनिक गर्न कुनै हतार नगरिएको स्पष्ट पार्दै आवश्यक जनशक्ति थप गरी प्रशासनिक प्रक्रिया सहज बनाएर समयमै नतिजा सार्वजनिक गरिएको बताए।
यस वर्ष वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ परीक्षामा ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएका थिए। परीक्षा सम्पन्न भएको ३८ दिनमै सार्वजनिक नतिजाअनुसार २ लाख ३१ हजार ४७० विद्यार्थी उत्तीर्ण भएका छन्।
हाल बोर्डले पुनर्योगका लागि १ हजार रुपैयाँ र उत्तरपुस्तिका पुनःजाँचका लागि १ हजार ५ सय रुपैयाँ शुल्क लिँदै आएको छ। तर मूल्यांकनमा बोर्डकै कमजोरी रहेको दाबी गर्दै विद्यार्थीहरूले उक्त शुल्कसमेत नलिन माग गरेका छन्।
