नक्कली कम्पनी खडा गरी लाखौँको ठगी, छ जनामाथि अनुसन्धान

इटहरी । एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौँ डलर र करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुले कारोबार गर्ने अनुमतिप्राप्त नभएको कम्पनी खडा गरेर त्यसमार्फत विदेशी नागरिकलाई ठगी गरेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले जनाएको छ । उक्त आर्थिक अपराधमा संलग्न रहेको आरोपमा अछाम बन्नीगढी गाउँपालिका–६ घर भइ काठमाडौँ बस्ने ३५ वर्षीय पृथ्वीबहादुर शाहसहितका छ व्यक्ति रहेका छन् ।

उक्त ठगीकार्यमा सोही जिल्लाका २५ वर्षीय विजयविक्रम शाह, जाजरकोट घर भइ काठमाडौँ बस्ने २७ वर्षीय चक्रबहादुर खत्री, दोलखा खोपाचाङ्गुका ४४ वर्षीय अनुप खड्का, नवलपरासी (पश्चिम) बर्दघाटका ४० वर्षीय रूकमाङ्गत काफ्ले र अछाम घर भइ काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ बस्ने २७ वर्षीय रङ्बहादुर साउद संलग्न रहेका पाइएको व्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई नियन्त्रणमा लिइ अदातबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

सुरुमा सिआइबीले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता रहेको हन्टिङ रिजर्भ अफ नेपाल प्रालिलगायत दर्जनौँ कम्पनीका नाममा शङ्कास्पद कारोबार देखिएको भन्ने सूचना प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा अनुसन्धानका लागि खटिएको सिआइबीको टोलीले ती व्यक्तिले नक्कली कम्पनी खडा गरेर गैरकानुनीरूपमा आर्थिक कारोबार गर्ने गरेको पत्ता लगाएको हो ।

उनीहरुमाथिको अनुसन्धानका क्रममा कारोबार गर्ने अनुमतिप्राप्त नभएको कम्पनी सञ्चालन गरी आर्थिक कारोबार गरेको, कम्पनीको उद्देश्यभन्दा फरक प्रकृतिका कार्यहरू गरेको, एक अमेरिकी नागरिक जुलियाको कम्प्युटरमा पहुँच पु¥याइ एन्टिभाइरस नवीकरणवापतको रकम पठाउनु भनी विश्वास दिलाएर खाताबाट अमेरिकी डलर ट्रान्सफर गर्न लगाएको पाइएको उहाँले बताउनुभयो ।

“अन्य विदेशी नागरिकलाई समेत झुक्याइ, विश्वासमा पारी बेइमानीपूर्वक वायरस्क्याम गरी स्वीफ्टमार्फत करिब ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर, रु तीन करोड २२ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

उनीहरुले गैरकानुनी तवरले आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यले ठगी गरी प्राप्त गरेको रकम उनीहरूले सञ्चालन गरेका विभिन्न कम्पनी तथा व्यक्तिका बैंक खातामा जम्मा गर्ने गरेका र प्राप्त रकमको स्रोत लुकाउने उद्देश्यले अन्य विभिन्न व्यक्ति तथा संस्थाको खातामा रकम पठाइ ठगी गरेको पाइएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *