झापामा एक महिनामै १० करोडभन्दा बढीको विपद् क्षति, आगलागीबाट सबैभन्दा ठूलो नोक्सानी
झापा । झापामा गत जेठ महिनामा भएका प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ। आगलागी, हावाहुरी, वन्यजन्तुको आक्रमण तथा चट्याङ्का घटनाले जिल्लाभर ठूलो भौतिक तथा मानवीय क्षति पुर्याएको तथ्याङ्क सार्वजनिक भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाको मासिक प्रगति प्रतिवेदनअनुसार जेठ महिनाभर भएका विभिन्न विपद्जन्य घटनाबाट कुल १० करोड ५१ लाख ६२ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ। तीमध्ये सबैभन्दा बढी नोक्सानी आगलागीका घटनाबाट भएको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार जेठ महिनामा जिल्लाका विभिन्न स्थानमा १५ वटा आगलागीका घटना भएका थिए। आगलागीबाट घरगोठ, अन्नपात तथा अन्य सम्पत्ति जलेर नष्ट हुँदा छ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
त्यसैगरी, जेठ महिनामै आएको हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा चार करोड सात लाख १६ हजार रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको प्रहरीले जनाएको छ। हावाहुरीका कारण घर, कृषि संरचना तथा अन्य भौतिक पूर्वाधारमा असर पुगेको बताइएको छ।
वन्यजन्तुको आक्रमण पनि जिल्लामा चुनौतीपूर्ण बन्दै गएको तथ्याङ्कले देखाएको छ। जेठ महिनामा जङ्गली जनावरको आक्रमणका आठ वटा घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। यस्ता घटनाबाट तीन लाख ७० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
यस्तै, चट्याङ्का घटनाबाट एक लाख ३६ हजार ५०० रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। बाढी तथा अन्य विपद्का घटनामा मानवीय क्षति नभए पनि प्रभावित सात जनाको प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ।
सूचना अधिकारी अवाका अनुसार विपद्का घटना भएलगत्तै प्रहरी टोली परिचालन गरी उद्धार, राहत तथा नागरिकको जीउधनको सुरक्षाका लागि आवश्यक कार्य गरिएको थियो। वर्षायाम सुरु भएसँगै सम्भावित विपद्का जोखिम बढ्ने भएकाले सतर्क रहन र आवश्यक सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीले स्थानीय तह, सरोकारवाला निकाय तथा नागरिकबीच समन्वय बढाएर विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारीसमेत गरेको जनाएको छ।
