सुन्दरहरैंचाका ११ सामुदायिक विद्यालयमा लागू औषध दुर्व्यसनविरुद्ध युवा जागरण कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा, मोरङ। सुन्दरहरैंचा नगरपालिकाको सहयोग तथा जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको आयोजनामा नगरका ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा लागू औषध दुर्व्यसनविरुद्ध युवा जागरण कार्यक्रम सम्पन्न भएको छ।

युवा पुस्तालाई लागू औषध दुर्व्यसनको जोखिम, असर र रोकथामबारे सचेत गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विशेषज्ञहरूले लागू औषध प्रयोगले स्वास्थ्य, शिक्षा, परिवार तथा भविष्यमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराएका थिए।

कार्यक्रमका प्रमुख अतिथि अकाली चौधरीले युवाहरू देशको भविष्य भएकाले उनीहरूलाई गलत बाटोबाट जोगाउनु सबैको साझा जिम्मेवारी भएको बताए।
उनले भने, “आजका युवाहरूले गलत संगत र लागू औषधबाट टाढा रहन सके मात्र समाज सुरक्षित र समृद्ध बन्न सक्छ। विद्यालय तहबाटै सचेतना कार्यक्रम अत्यन्त आवश्यक छ।”

त्यसैगरी सुन्दरहरैंचा नगरपालिकाको सामाजिक शाखा प्रमुख गुणनिधि दाहालले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै नगरपालिकाले सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताए।
उनले भने, “युवाहरूलाई सही दिशामा लैजान विद्यालय, परिवार र स्थानीय सरकारबीच समन्वय आवश्यक छ। नगरपालिकाले यस्ता कार्यक्रमलाई अझ विस्तार गर्दै लैजानेछ।”

कार्यक्रममा विद्यार्थीहरूलाई समूहगत छलफल, सचेतनामूलक प्रस्तुति तथा अन्तरक्रियामार्फत लागू औषधबाट हुने जोखिमबारे जानकारी दिइएको थियो। सहभागी विद्यालयहरूले यस्तो कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

आयोजक जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रालिका अनुसार भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै युवालाई सकारात्मक दिशामा उन्मुख गराउने लक्ष्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *