हिमालय इङ्गलिस स्कुलमा शिक्षक–अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुन्दरहरैँचा (मोरङ) – बालबालिकाको शैक्षिक उपलब्धि, मानसिक स्वास्थ्य र व्यक्तित्व विकासमा घर तथा विद्यालयको साझा भूमिका सुदृढ गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित हिमालय इङ्गलिस स्कुलले शिक्षक–अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाकी शिक्षा शाखा अधिकृत अन्जु सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा बोल्दै उनले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताइन्। यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका साथै बालबालिकालाई जिम्मेवार, सक्षम र आत्मविश्वासी नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
कार्यक्रमका मुख्य सहजकर्ता शैक्षिक मनोविज्ञ तथा इन्स्पायर एजुकेसनका सीईओ इन्द्रकुमार प्रसाईले अभिभावकको भूमिका, बाल मनोविज्ञान, सकारात्मक सिकाइ वातावरण र गुणस्तरीय शिक्षाका विविध आयामबारे सहजीकरण गरेका थिए। उनले बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन विद्यालयसँगै घरको वातावरण पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै अभिभावकलाई आफ्ना सन्तानसँग नियमित संवाद गर्न, उनीहरूको रुचि र क्षमतालाई पहिचान गर्न तथा प्रोत्साहनमुखी व्यवहार अपनाउन आग्रह गरे।
विद्यालयका प्रिन्सिपल कमल खनालले विद्यार्थीको शैक्षिक सफलता केवल विद्यालयको प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै शिक्षक र अभिभावकबीचको निरन्तर सहकार्यले मात्र अपेक्षित नतिजा दिन सक्ने बताए। उनले यस्ता कार्यक्रमले घर र विद्यालयबीचको सम्बन्धलाई अझ विश्वासिलो र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी अभिभावकहरूले बालबालिकाको मनोविज्ञान, अध्ययन बानी तथा घरमा सिकाइमैत्री वातावरण निर्माण गर्ने विषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए। शिक्षकहरूले पनि अभिभावकसँगको नियमित संवाद र सहकार्यले विद्यार्थीको सिकाइ उपलब्धि तथा व्यवहारगत विकासमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरेका थिए।
विद्यालय प्रशासनका अनुसार अभिमुखीकरण कार्यक्रमले बालबालिकाको समग्र विकासका लागि घर र विद्यालयबीच आवश्यक सहकार्यको आधार तयार गरेको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षालाई थप प्रभावकारी, व्यवहारिक र विद्यार्थीमैत्री बनाउने लक्ष्य विद्यालयले लिएको जनाएको छ।
तस्वीर : एलएन गच्छदार

Leave a Reply

Your email address will not be published. Required fields are marked *