निरन्तर मूल्यांकन प्रणाली कार्यान्वयनका लागि शिक्षकलाई सशक्त बनाउनुपर्नेमा जोड
सुन्दरहरैंचा (मोरङ) – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नगरकार्यसमिति सुन्दरहरैंचाको आयोजनामा निरन्तर मूल्यांकन प्रणाली (Continuous Assessment System) सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।
सुन्दरहरैंचा–४ स्थित गोदावरी रिसोर्टमा आयोजित कार्यशालाको उद्घाटन प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेत को प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा प्याब्सन मोरङका सचिव देवी सिटौला, सहसचिव दिपेन राई, विभिन्न विद्यालयका सञ्चालक, प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्री ले नेपाल सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा समावेश कक्षा ५ सम्म आन्तरिक परीक्षा हटाउने निर्णयलाई शिक्षा क्षेत्रको सुधारोन्मुख कदमका रूपमा लिनुपर्ने बताए। उनले परीक्षा–केन्द्रित प्रणालीभन्दा सिकाइ–केन्द्रित मूल्यांकन प्रणालीले विद्यार्थीको वास्तविक क्षमता पहिचान गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।
प्याब्सन मोरङका सचिव देवी सिटौलाले निरन्तर मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाउन शिक्षकको भूमिकालाई केन्द्रमा राख्नुपर्ने बताइन्। मूल्यांकनलाई केवल अंक प्रदान गर्ने प्रक्रियामा सीमित नगरी विद्यार्थीको सिकाइ अवस्था, व्यवहार, सिर्जनशीलता, सहभागिता तथा क्षमता विकाससँग जोडेर हेर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। विद्यालयहरूले निरन्तर मूल्यांकनलाई व्यवहारिक रूपमा लागू गर्न सके मात्र शैक्षिक सुधारका लक्ष्य हासिल गर्न सकिने उनले बताइन्।
प्रमुख अतिथि जगतबहादुर बस्नेतले विश्वव्यापी रूपमा शिक्षा प्रणालीहरू लिखित परीक्षा–केन्द्रित मूल्यांकनबाट सिकाइ र क्षमता–आधारित मूल्यांकनतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै नेपालमा पनि सोहीअनुसार शिक्षण अभ्यासलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले मूल्यांकन सुधारको सफलता केवल परीक्षा हटाउने निर्णयमा निर्भर नहुने बताउँदै शिक्षकको दक्षता, पाठ्यक्रम र मूल्यांकनबीचको समन्वय तथा संस्थागत तयारीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमको स्वागत मन्तव्य प्याब्सन सुन्दरहरैंचाका उपाध्यक्ष टिका पराजुली ले राखेका थिए भने सञ्चालन सूर्य दंगाल ले गरेका थिए। कार्यशालामा सहभागीहरूले निरन्तर मूल्यांकन प्रणालीका सिद्धान्त, व्यवहारिक प्रयोग तथा विद्यार्थीको सिकाइ उपलब्धि मापनका विविध पक्षबारे अन्तरक्रिया गरेका थिए।
– एल.एन. गच्छदार
