बाँदर आतंकले खोटाङका किसानको उठिबास, नियन्त्रणको माग गर्दै गाउँपालिका घेराउ
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका किसानहरू जंगली बाँदरको आतंकबाट आजित बनेका छन्। वर्षौँदेखि खेतीपाती गरेर जीवन धान्दै आएका किसानहरूको मेहनत केही मिनेटमै बाँदरले नष्ट गर्न थालेपछि उनीहरू आक्रोशित हुँदै समस्या समाधानको माग लिएर गाउँपालिका कार्यालय पुगेका छन्।
“जनताभन्दा बाँदर ठूलो कि बाँदरभन्दा जनता ठूलो? कि जनता पाल, कि बाँदर पाल, भन्दै जन्तेढुंगा गाउँपालिका–५ चिसापानी पाथीभराका किसान सूर्य राईले गाउँपालिकाको सभाहलमा आफ्नो पीडा पोखेका थिए। उनका अनुसार खेतबारीमा लगाएको मकै, कोदो, धान, फलफूल तथा अन्य बाली बाँदरले सखाप पार्न थालेपछि किसानहरू खेती गर्नै निरुत्साहित भएका छन्।
बाँदर नियन्त्रणको माग गर्दै गाउँपालिकाको कार्यालय पुगेका किसानहरूले कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए। गाउँपालिका अध्यक्ष अरुणादेवी राई, उपाध्यक्ष खेमबहादुर खड्का र प्रशासनिक नेतृत्वसँग भएको छलफलमा किसानहरूले आफूहरू दिनहुँको त्रासमा बाँचिरहेको बताएका थिए।
स्थानीय किसान चन्द्रबहादुर राईले सरकारले किसानको समस्या सुन्नुपर्ने बेला आएको बताए। अर्का किसान जमिन राईका अनुसार सुरु–सुरुमा सुन्तलाको दाना मात्र खाने बाँदर अहिले फल टिपेर सुरक्षित ठाउँमा लगेर बोक्रा उक्काएर खानेसम्मको बानी विकास भएको छ, जसले फलफूल खेतीमा ठूलो क्षति पुर्याएको छ।
युवा किसान सुमन राईले महिनौँको मेहनत र पसिनाबाट उत्पादन गरिएको अन्नबाली बाँदरको समूहले आधा घण्टामै नष्ट पारिदिने गरेको गुनासो गरे। “हामीले वर्षभरि खानका लागि लगाएको बाली केही समयमा सखाप हुन्छ, अब खेती गरेर बाँच्ने आधार नै हराउँदै गएको छ,” उनले भने।
जन्तेढुंगा गाउँपालिकाका सबै ६ वटै वडामा बाँदरको समस्या फैलिएको छ। बाँदरको निरन्तर आक्रमणका कारण कतिपय किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेका छन् भने केही परिवार बसाइँसराइ गर्न बाध्य भएको स्थानीयको भनाइ छ।
किसानहरूको गुनासोपछि गाउँपालिका, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र स्थानीयबीच लामो छलफल भएको थियो। छलफलमा बाँदरलाई मार्नेभन्दा सुरक्षित तरिकाले बस्ती र खेतीयोग्य क्षेत्रबाट टाढा लैजाने उपाय अपनाउने सहमति भएको छ। चैत महिनाको समयमा बाँदरलाई समूह बनाएर खेद्दै जंगलको टाढाको क्षेत्रमा पुर्याउने तथा त्यसका लागि आवश्यक खाना, खाजा र व्यवस्थापनको जिम्मेवारी गाउँपालिका र किसानले संयुक्त रूपमा गर्ने निर्णय भएको छ।
गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बाँदर धपाउने कार्यमा संलग्न हुने स्वयंसेवकका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्। अध्यक्ष अरुणादेवी राईले पनि किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर बाँदर नियन्त्रणका लागि व्यवहारिक योजना अघि बढाइने बताइन्।
खेतीपाती जोगाउने कि बाँदरको आतंक सहेर गाउँ छाड्ने भन्ने दोधारमा पुगेका जन्तेढुंगाका किसान अहिले प्रभावकारी समाधानको पर्खाइमा छन्। समयमै उचित कदम नचालिए पहाडी क्षेत्रको कृषि उत्पादन र किसानको जीवनयापनमा अझ ठूलो संकट आउने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।
