आजबाट पूर्वाञ्चल शिक्षण अस्पतालमा शल्यक्रिया सेवा सुरु, पहिलोपटक कुमको सफल अपरेसन

पूर्वाञ्चल शिक्षण अस्पतालमा शल्यक्रिया सेवा सुरु, पहिलोपटक कुमको सफल अपरेसन

एलएन गच्छदार
सुन्दरहरैंचा / असार १० गते

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा औपचारिक रूपमा शल्यक्रिया (अपरेसन) सेवा सुरु गरिएको छ। नव-निर्मित शल्यकक्ष र शल्यक्रिया वार्डको स्थापना पछि अस्पतालले पहिलोपटक सफल शल्यक्रिया सम्पन्न गर्दै सेवा प्रारम्भ गरेको हो।

मंगलवार २८ वर्षीय पुरुष बिरामीको कुमको सफल हाडजोर्नी शल्यक्रिया सम्पन्न भएको अस्पतालले जानकारी दिएको छ। अपरेसन हाडजोर्नी विशेषज्ञ तथा उप–प्राध्यापक डा. रोबिन श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो।

शल्यक्रिया टोलीमा हाडजोर्नी सर्जन डा. धीरज सिंह, एनेस्थेसियोलोजिस्ट डा. विकास अधिकारी लगायतको सक्रिय सहभागिता रहेको थियो।

अस्पतालका निर्देशक प्रोफेसर डा. दिपेन्द्र कुमार गिरीका अनुसार अहिले अस्पतालमा ३०० मेडिकल बेड सञ्चालित छन् भने सबै माइनर शल्यक्रिया सेवा सुरु भइसकेका छन्। मेजर शल्यक्रिया सेवा पनि निकट भविष्यमै सुरु गरिने तयारी भइरहेको छ।

अस्पतालले हाल ओपिडी सेवा अन्तर्गत अर्पोडिक, जेनरल सर्जरी, स्त्री तथा प्रसूति (गाइनो), डेन्टल, फिजियोथेरापी, नाक-कान-घाँटी, छाला तथा यौन रोग, आँखासम्बन्धी सेवा, मेडिसिन लगायतका विभागीय सेवा प्रदान गरिरहेको छ।

स्थानीय बासिन्दाहरू अस्पतालमा शल्यक्रिया सेवा सुरु भएपछि अत्यन्त खुशी भएको जनाएका छन्। अब धेरैजसो उपचार सेवाका लागि टाढा नजानु पर्ने भएकाले यसले आर्थिक र समयको बचतसमेत गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *