तीनपैनी बचत तथा ऋण सहकारी संस्था ळी.को १४ औं बार्षिक साधारण सभा सम्पन्न
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -५ मा रहेको तीनपैनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४ औं वार्षिक साधारणसभा शनिबार तिनापैनिमा सम्पन्न भएको छ ।
सो वडाका अध्यक्ष गणेश चौधरीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा नियमित बचत जम्मा गर्ने उत्कृष्ट बचतकर्ता महिला तर्फ कौशिला तामाङ र पुरुष तर्फ रमेश तामाङ तथा असल ऋणी महिला तर्फ मधु तामाङ र पुरुष तर्फ सन्ते राई सम्मानित भएका हुन् ।
संस्थाका अध्यक्ष विजय तिम्सिनाको अध्यक्षतामा भएको बार्षिक साधारणसभामा तिम्सिनाले बार्षिक प्रतिवेदन तथा आगामी कार्यक्रमतथा प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लेखा संयोजक सोमनाथ फुयालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो भने संस्थाका कोषाध्यक्ष चम्पा शाहीले प्रस्तावित, यथार्थ र अनुमानित कारोबार तथा आय व्यय प्रस्तुत गरेकी थिइन् ।
करिब ७ सय ४९ जना शेयर सदस्य रहेको सो संस्थाले २० लाख ३८ हजार ९ सय शेयर पुँजी र १ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ भने १ करोड ४ लाख ६५ हजार ऋण लगानी गरेको छ। त्यसैगरी जेष्ठ सदस्य चन्द्र बहादुर शाही, गंगादेवी डाँगी, देवीमाया घिमिरे राई, गुणराज गुरागाईं र धन बहादुर अधिकारीलाई दोसाल्हा ओढाएर सम्मान गरेको थियो।
