रास्वपाको राष्ट्रिय महाधिवेशन निर्वाचन आचारसंहिता जारी, प्रचारदेखि मतदानसम्म कडा नियम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी राष्ट्रिय महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन ‘राष्ट्रिय महाधिवेशन निर्वाचन आचारसंहिता, २०८३’ जारी गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले विधान तथा निर्वाचन कार्यविधिअनुसार जारी गरेको आचारसंहिताले सम्पूर्ण निर्वाचन प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन विभिन्न कडा व्यवस्था गरेको छ ।

आचारसंहिताअनुसार उम्मेदवारी प्रमाणित भएपछि मात्र प्रचार–प्रसार गर्न पाइनेछ । निर्वाचनलाई पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित बनाइएको भन्दै प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत गतिविधिमा प्रचार गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

त्यसैगरी, प्रचारका लागि प्रत्येक उम्मेदवारले एउटामात्र पोस्टर प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ भने महाधिवेशन स्थल र आसपासका क्षेत्रमा ब्यानर, फ्लेक्स, पर्चा वा अन्य प्रचार सामग्री प्रयोग गर्न निषेध गरिएको छ ।

सामाजिक सञ्जाल, एसएमएस वा अन्य माध्यममार्फत भ्रामक सूचना फैलाउने, सशुल्क प्रचार गर्ने वा मत माग्ने कार्यलाई पनि निषेध गरिएको आचारसंहितामा उल्लेख छ । उम्मेदवारले प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न सक्ने भए पनि जुलुस, नाराबाजी, शक्ति प्रदर्शन वा होहल्ला गर्न पाइने छैन ।

आचारसंहिताले पार्टीका बहालवाला पदाधिकारी, सांसद तथा अन्य जिम्मेवार व्यक्तिलाई आफ्नो पद, स्रोत वा प्रभाव प्रयोग गरी निर्वाचन प्रभावित पार्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । मतदाता प्रभावित पार्ने उद्देश्यले आर्थिक प्रलोभन, उपहार वितरण, भोजभतेर, डर–धम्की वा पदको आश्वासन दिनु पूर्ण रूपमा निषेध गरिएको छ । मतदान प्रक्रियामा गोपनीयता कायम गर्न मतदान कक्षभित्र मोबाइल फोन, क्यामेरा वा अन्य इलेक्ट्रोनिक उपकरण लैजान तथा फोटो वा भिडियो खिच्न रोक लगाइएको छ ।

निर्वाचन आयोगले उजुरी दर्ता प्रक्रिया पनि कडा बनाउँदै घटना भएको २४ घण्टाभित्र प्रमाणसहित उजुरी दिनुपर्ने व्यवस्था गरेको छ । आचारसंहिता उल्लंघन प्रमाणित भएमा चेतावनीदेखि उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने र आवश्यक परे अनुशासन आयोगमा सिफारिस गरिने उल्लेख छ । आइतबारदेखि सुरु हुने रास्वपाको प्रथम महाधिवेशनमा देशभरबाट करिब ४ हजार प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *