झापाको फोहोर प्रशोधन प्लान्ट पुनः सञ्चालनको तयारीमा, एक–दुई साताभित्र फोहोर संकलन सुरु हुने

झापाका कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा स्थापना गरिएको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर व्यवस्थापन परियोजना पुनः सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। लामो समयदेखि बन्द रहेको फोहोर प्रशोधन केन्द्रका मुख्य उपकरणहरूको मर्मत कार्य अन्तिम चरणमा पुगेपछि एक–दुई साताभित्र फोहोर संकलन सुरु गर्ने लक्ष्य राखिएको छ।

कनकाई नगरपालिका–२ सुकेडाँगीस्थित फोहोर प्रशोधन प्लान्ट व्यवस्थापन पक्षका अनुसार जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका डाइजेस्टर, सेग्रिगेटरलगायत उपकरणहरूको मर्मत लगभग सम्पन्न भइसकेको छ। सम्बन्धित स्थानीय तहबाट कार्यादेश प्राप्त हुनेबित्तिकै प्लान्ट सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

प्रारम्भिक चरणमा कनकाई नगरपालिकाको फोहोर संकलन गरिनेछ भने त्यसपछि क्रमशः बिर्तामोड र अर्जुनधारा नगरपालिकाको फोहोर व्यवस्थापन गरिने योजना छ। प्लान्टले स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याएर प्रशोधन गर्ने प्रणालीलाई प्राथमिकता दिएको जनाएको छ।

फोहोर प्रशोधन केन्द्र पुनः सञ्चालनमा आएपछि नगरपालिकाहरूले लामो समयदेखि झेल्दै आएको फोहोर विसर्जनस्थलको समस्या समाधानतर्फ महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ। व्यवस्थापन पक्षका अनुसार प्लान्ट सञ्चालनका लागि आवश्यक मर्मत तथा बैंकको ब्याज भुक्तानी गर्न निजी क्षेत्रबाट ऋणसमेत जुटाइएको छ। अब सञ्चालनबाट आम्दानी हुन थालेपछि बाँकी आर्थिक दायित्व क्रमशः चुक्ता गरिने योजना छ।

फोहोरलाई प्रशोधन गरी बायोग्यास र कम्पोस्ट मल उत्पादन गर्ने लक्ष्यसहित स्थापना गरिएको यो परियोजना २०७६ वैशाख ७ गते उद्घाटन गरिएको थियो। तर व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विभिन्न समस्याका कारण परियोजना अपेक्षित रूपमा सञ्चालन हुन सकेको थिएन।

परियोजनामा कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले संयुक्त रूपमा सात करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन्। साथै ६५० भन्दा बढी सर्वसाधारणको लगानी रहेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत विश्व बैंकको सहयोगमा करिब पाँच करोड रुपैयाँ लगानी भएको यस परियोजनाले थप आर्थिक सहयोगको प्रतिबद्धता समेत प्राप्त गरेको छ।

करिब ५८ कठ्ठा क्षेत्रफलमा फैलिएको यो प्लान्ट पुनः सञ्चालनमा आए झापामा दीर्घकालीन फोहोर व्यवस्थापनको नमुना परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *