NCC Quiz Mania सिजन–२ को फाइनल असोज ३ गते, प्रथमलाई ११ हजार पुरस्कार

 

एलएन गच्छदार / सुन्दरहरैंचा

मोरङको सुन्दरहरैंचामा रहेको नेपाल कम्प्युटर सेन्टर (NCC) ले ‘NCC Quiz Mania सिजन–२’ आयोजना गर्ने भएको छ। विद्यार्थीमा ज्ञान, तार्किक क्षमता र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको फाइनल राउण्ड असोज ३ गते हुने आयोजकले जनाएको छ।

बिहीबार आयोजित प्रेस मिटमार्फत कार्यक्रमबारे जानकारी दिँदै NCC का प्रबन्ध निर्देशक शम्भु राईले सुन्दरहरैंचा–६ स्थित आदिवासी जनजाति भवनमा फाइनल राउण्ड सञ्चालन गरिने बताए।

प्रतियोगितामा इटहरी र सुन्दरहरैंचाका २० भन्दा बढी विद्यालयको सहभागिता रहने र विभिन्न चरण पार गर्दै छनोट भएका विद्यार्थी फाइनलमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताले विद्यार्थीको सामान्य ज्ञान, सूचना प्रविधिसम्बन्धी ज्ञान, तार्किक क्षमता तथा आत्मविश्वास अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ। प्रथम हुने टोलीले नगद ११ हजार रुपैयाँ, दोस्रोले ७ हजार ५ सय रुपैयाँ, तेस्रोले ५ हजार ५ सय रुपैयाँ तथा सान्त्वना हुने टोलीले ३ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, विजेताहरूलाई मेडल तथा ट्रफी प्रदान गरिनेछ भने प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

NCC का प्रबन्ध निर्देशक राईले विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रतिस्पर्धामार्फत उजागर गर्ने उद्देश्यले Quiz Mania लाई निरन्तरता दिइएको बताए। उनका अनुसार प्रतियोगितालाई विद्यार्थी, विद्यालय, शिक्षक तथा अभिभावकबीच ज्ञानमूलक र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने अवसरका रूपमा विकास गर्ने प्रयास गरिएको छ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *