पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दीको असर: कर्मचारी संघको आपत्ति

एलएन गच्छदार / सुन्दरहरैंचा 

सुन्दरहरैंचा नगरपालिका गोठगाउँमा रहेको  पूर्वाञ्चल विश्वविद्यालय नेपाल विद्यार्थी संघद्वारा  सेवा आयोगमा गरिएको तालाबन्दीप्रति पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघले गम्भीर आपत्ति जनाएको छ। संघले विश्वविद्यालयमा भइरहेको वृत्ति विकास प्रक्रियालाई अवरुद्ध गर्ने गरी भएको तालाबन्दीले शिक्षक तथा कर्मचारीहरूमा निराशा पैदा गरेको बताएको छ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू दिपेन रौनियार, बिन पराजुली, अंकित भट्टराई, अभिषेक भट्टराई लगायतका नेताहरूको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा विश्वविद्यालयमा देखिएका विसंगति र अनियमितताविरुद्ध आवाज उठाइएको थियो। उनीहरूले आन्तरिक बढुवा प्रक्रियामा पारदर्शिता नअपनाइएको भन्दै विरोध जनाएका थिए।

तर, पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघले यसको प्रतिवाद गर्दै विश्वविद्यालय एउटा स्वायत्त संस्था भएको र यसले नेपालकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा आफूलाई विकास गरिरहेको जनाएको छ। कर्मचारी संघका अनुसार विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रका लागि दक्ष जनशक्ति उत्पादन गरिरहेको छ। संघले प्राज्ञिक स्तर उकास्न शिक्षक, कर्मचारी, विद्यार्थी, विश्वविद्यालयका सरोकारवाला, सभासद् तथा शिक्षाप्रेमीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेको छ।

संघका अनुसार पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले २०८१ पुस १२ र १३ गते शिक्षक तथा कर्मचारीहरूको वृत्ति विकासका लागि आन्तरिक बढुवा तथा प्रतियोगितात्मक परीक्षा सञ्चालनको विज्ञापन प्रकाशित गरेको थियो। परीक्षाफलसमेत प्रकाशित भइसकेको अवस्थामा विद्यार्थी संघले सेवा आयोगको कार्यालय, गोठगाउँमा तालाबन्दी गरेपछि शिक्षक तथा कर्मचारीहरूको वृत्ति विकास प्रक्रिया प्रभावित भएको कर्मचारी संघ गोठ गाउँ मोरंगका सभापति रुपेश बस्नेत भनाइ छ।

त्यसैगरी, विश्वविद्यालयको १३औं दीक्षान्त समारोह २०८१ फागुन २७ गतेसम्म तोकिएको छ, जसमा सम्माननीय प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिज्यूको अध्यक्षतामा हजारौं विद्यार्थी दीक्षित गरिने कार्यक्रम रहेको छ। यस्तो अवस्थामा तालाबन्दीले विश्वविद्यालयको नियमित कार्य प्रभावित हुने भन्दै कर्मचारी संघले वार्ता र संवादमार्फत समाधान खोज्न अपील गरेको छ।

कर्मचारी संघले सम्बन्धित सबै सरोकारवाला पक्षलाई वार्तामा आउन अनुरोध गर्दै तत्काल तालाबन्दी खोल्न आग्रह गरेको छ।

पूर्वाञ्चल विश्वविद्यालयमा देखिएका विभिन्न विसंगति र विकृतिहरूको विरोध गर्दै नेपाल विद्यार्थी संघले कडा आपत्ति जनाएको छ। संघले विश्वविद्यालय प्रशासन अध्ययन तथा अनुसन्धानको स्तर उकास्नेतर्फ भन्दा कर्मचारी तथा शिक्षक सरुवा, बढुवा र नियुक्तिमा मात्रै केन्द्रित भएको आरोप लगाएको छ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै विश्वविद्यालयमा भइरहेको अनियमितताका विरुद्ध आवाज उठाएका हुन्। संघले नेपाल विद्यार्थी संघसँग भएका सम्झौताहरूको पूर्ण कार्यान्वयनको माग गर्दै विधि तथा प्रक्रिया मिचेर भएका परीक्षाहरू स्थगित गर्न जोडदार माग गरेको छ।

संघका अनुसार वृत्ति विकासको नाममा ऐन, नियम तथा कानुन मिचिएको छ, जसले योग्य उम्मेदवारहरूको अवसर खोसिएको छ। आन्तरिक प्रतियोगिताका नाममा स्वत: बढुवाको परिपाटी बन्द गर्नुपर्ने र खुला प्रतियोगिताका मापदण्डलाई पूर्ण रूपमा लागू गर्नुपर्ने माग संघले अघि सारेको छ।

विद्यार्थीहरूको मागलाई बेवास्ता गरिएमा आन्दोलनका कार्यक्रम अगाडि बढाइने चेतावनी समेत दिइएको छ। संघका केन्द्रीय सदस्य दिपेन रौनियार, बिन पराजुली, अंकित भट्टराई, अभिषेक भट्टराई लगायतको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा यदि मागहरू पूरा नगरिए विश्वविद्यालय तथा सेवा आयोग  स्वयं यसको जिम्मेवार हुने उल्लेख गरिएको छ।

शिक्षा क्षेत्रलाई राजनीतिक अखडाबाट मुक्त गर्दै विश्वविद्यालयलाई पुनः अध्ययन, अनुसन्धान र नवाचारको थलो बनाउनेतर्फ सबै सरोकारवालाहरू गम्भीर बन्नुपर्ने आवाज उठ्न थालेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *