जङ्गलमा छाडिएका ७० वर्षीय वृद्धको उद्धार, छोराबुहारीमाथि आरोप
विराटनगर : मोरङको बेलबारी ७ का ७० वर्षीय जामुनलाल झाँगडलाई आफ्नै छोराबुहारीले जङ्गलमा छोडेको आरोप छ ।
उनले चारदिन जङ्गलमै रात कटाएका थिए । बेलबारी चिसाङ साझेदारीको गस्ती टोलीले मंगलबार बिहान वृद्धलाई भेटेर उद्धार गरेको हो । उनलाई सब डिभिजन वन कार्यालय सलकपुरका गणेश कार्की, राजेन्द्र घिमिरे, बेलबारी चिसाङ साझेदारीको कमान्डर मुरारी काफ्ले तथा बेलबारी नगरपालिकाका सन्तोष विकसहितको टोलीले उद्धार गरेको थियो । उद्धारपछि उनलाई बेलबारी नगर अस्पतालमा उपचार गराइरहेको वन समितिका अध्यक्ष दिनेश गिरीले बताए ।
‘चार दिनअगाडि नै बिच जंगलमा लगेर छाडिदिएका रहेछन् । वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनुभएछ,’ उनले भने, ‘छोराबुहारीले नै मोटरसाइकलमा बसाएर बिच जंगलमा लगेर छाडिदिएको उनले बताएका छन् ।’ वृद्धलाई दुईतिर बोरामा घोचा हालेर प्राथमिक स्ट्रेचर बनाई गाडी पुग्ने स्थानसम्म ल्याएर उपचारको लागि अस्पताल भर्ना गरिएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार वृद्धका परिवारको खोजी भइरहेको छ । सेतै फुलेका दाह्री र कपाल रहेका वृद्ध पातलो टिसर्ट र हाफपाइन्टमा फेला परेका थिए । उनले चार दिनदेखि पानी मात्र पिएर बसेको बताएका छन् ।
