“सेवामा तल्लिन सेवक खत्री : समाजका घाउमा मलम लगाउने एउटा शान्त शक्ति”
सुन्दरहरैचा नगरपालिका –६, सुर्योदय टोलकी क्यान्सरपीडित कमला दर्जीका घरको ढोकासम्म पुगेर सहयोग हस्तान्तरण गर्दै गरेका थिए– आश्रय सुधार केन्द्रका कार्यक्रम निर्देशक सेवक खत्री। कहिलेकाहीँ मान्छेको परिचय कुनै पदले होइन, उहाँका कदमहरूले दिएको हुन्छ। सेवक खत्री पनि त्यही परिचय बोक्ने मान्छे हुन्– शब्दभन्दा कर्ममा बढी विश्वास गर्ने, समाजका पीडितको हात थाम्न अघि बढ्ने, अनि आफूभन्दा कमजोरलाई कहिल्यै अकेलै नछोड्ने।
कमलादेवीको परिवार खान–लाउनसमेत कठोर संघर्षमा रहेको खबर सुनेपछि खत्री कुनै औपचारिकता, कुनै प्रचारबिना सोही घर अगाडि आइपुग्छन्। हातमा केही खाद्यान्न, केही आर्थिक सहयोग र मुटुमा अमिलो–नुनिलो जीवनसँग लडिरहेका ती परिवारप्रति अपार माया। सहयोगको थोरै मात्रा नै किन नहोस्, “पीडामा साथ दिन सक्नु नै सबैभन्दा ठूलो मानवता हो,” भन्ने भावनासहित।
युवाहरूका लागि एउटा जीवित ‘Role Model’सेवक खत्रीलाई नजिकबाट चिनेका धेरैले भन्छन्- “उहाँ बोल्नु भन्दा अगाडि काम देखाउनुहुन्छ।” समाजमा आजभोलि उदाहरण पात्रको अभाव छ भनिन्छ, तर सेवकजस्ता युवाले त्यो अभाव केही हदसम्म पूर्ति गरिरहेका छन्।
उहाँ खासगरी लागुऔषध दुर्व्यसनमा फसेका युवालाई पुनर्जीवन दिन अहोरात्र खटिनुहुन्छ। लतले परिवार टुटेका, समाजबाट टाढिएका, आफ्नो अस्तित्वसमेत हराउँदै गरेका धेरै युवाले सेवकको मार्गदर्शन र आश्रय सुधार केन्द्रको कार्यक्रममार्फत नयाँ जीवन पाएका छन्। “असफलतासँग होइन, समाधानसँग नजिक जाऊ,” भन्ने उहाँको सन्देश धेरै युवाको जीवन मोड्ने शक्ति बनेको छ।
बालबालिका, खेलकुद, कृषि र ज्येष्ठ नागरिक-सबै क्षेत्रमा सक्रिय सामाजिक सेवाको दायरा सेवकका लागि सीमित छैन। बालबालिकालाई शिक्षा तथा सिकाइ सामग्री वितरण,खेलकुदमा युवालाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउने,अनि ज्येष्ठ नागरिकको हेरचाह तथा सम्मान— यी सबै क्षेत्र उहाँका दैनिकीको हिस्सा बनेका छन्।
उनको काममा हतार छैन, तर थकाइ पनि छैन। समाज बदल्न ठूलाठूला शक्ति होइन, साना–साना सद्भावका कामले पुग्छ भन्ने बुझेर अघि बढ्ने व्यक्तित्व हुन् खत्री। सुर्योदय टोलका कमला दर्जीको घरमा पुर्याइएको सहयोग रकम भन्दा ठूलो थियो सेवकले पुर्याएको आशाको उज्यालो। विपन्न परिवारले भोगिरहेको कठोर दिनलाई केही बेर सहज बनाइदिने त्यो मानवीयता—यही हो सेवक खत्रीको पहिचान। कुनै पद, सम्मान वा पुरस्कारले होइन, उहाँका हरेक कदममा छरिएको मानवताले सेवकलाई समाजको ‘उदाहरण पात्र’ बनाएको छ।
