लेटाङ नगरपालिकाको नीति, बजेट तथा योगदानकर्ताको सम्मान सहित भव्य सार्वजनिक कार्यक्रम सम्पन्न
लेटाङ नगरपालिकाको नीति, बजेट तथा योगदानकर्ताको सम्मान सहित भव्य सार्वजनिक कार्यक्रम सम्पन्न
विराटचोक, असार ३० — लेटाङ नगरपालिकाले सत्रौँ नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। नगर प्रमुख भूपेन्द्र कुमार लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका माननीय प्रदेश प्रमुख पर्शुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा प्रतिनिधिसभाका पूर्व सदस्य घनश्याम खतिवडा, प्रदेश सरकारका पूर्वमन्त्री उपेन्द्र घिमिरे, पूर्व नगरप्रमुख शंकर राई, नेकपा एमालेका नेता युवराज वास्कोटालगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुमा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले स्वागत मन्तव्य राखेका थिए। त्यसपछि नगर प्रमुख लावतीले नीति तथा कार्यक्रमको सारांश प्रस्तुत गर्दै समावेशी, उत्तरदायी र दिगो विकासलाई केन्द्रमा राखिएको जानकारी दिए। नगर उपप्रमुख कृष्णकुमारी पोख्रेलले २०८२/८३ को बजेटको मुख्य अंश सार्वजनिक गरिन्।
कार्यक्रममा आर्थिक ऐन, विनियोजन ऐन, शिक्षा योजना, खेलकुद बुकलेट, न्यायिक समितिको प्रतिवेदनलगायत नगरले तयार गरेका दस्तावेजहरू सार्वजनिक गरिएका थिए।
साथै, कार्यक्रममा नगर विकासमा योगदान दिने विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। वडा नं. ५ मा कार्यालय तथा स्वास्थ्य भवन निर्माणका लागि जग्गा दान गर्ने नागरिकहरूलाई विशेष सम्मान दिइएको थियो भने शिक्षा, प्रशासन, कृषि, खेलकुद लगायतका क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तिहरू, शिक्षक, कर्मचारी, खेलाडी तथा विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
शिक्षा क्षेत्रमा SEE 2080 मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरू तथा कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहन गरिएको थियो। खेलकुदतर्फ फुटबल, भलिबल र करातेमा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरू पनि सम्मानित भएका थिए।
राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिँदै नगरपालिकाको प्रयासको प्रशंसा गरे। प्रमुख अतिथि पर्शुराम खापुङले समावेशी र अग्रगामी योजनासहित अघि बढिरहेको लेटाङलाई उदाहरणीय नगरपालिका भन्नुहुंदै आगामी दिनमा अझ सुदृढ र समुन्नत हुने विश्वास व्यक्त गरे।
नगर प्रमुख लावतीले सबै अतिथि र सहभागीहरूलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए। कार्यक्रममा नगर कार्यपालिका सदस्य, विभिन्न वडाध्यक्ष, राजनीतिक दलका नगर अध्यक्ष, सहकारी, बैंक, विद्यालय, सामाजिक संघसंस्था, सामुदायिक वन तथा खेलकुद क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
