नोबेल अस्पतालमा सफल कोक्लियर इम्प्लान्ट शल्यक्रिया, सुन्ने सक्ने भए बालबालिका
विराटनगर–४ कन्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले आधुनिक चिकित्सा प्रविधि अन्तर्गत कोक्लियर इम्प्लान्ट शल्यक्रिया सेवा सुरु गरेको छ। अस्पतालमा आयोजित पत्रकार सम्मेलनमार्फत यो प्रविधिबारे विस्तृत जानकारी दिइएको हो।
पत्रकार सम्मेलनमा नोबेल अस्पतालका संचालक समितिका सल्लाहकार सोइना शर्मा, अस्पताल निर्देशक प्रा.डा. राजेश नेपाल, नाक-कान-घाँटी विभाग प्रमुख डा. मीनाक्षी बस्नेत, तथा विशेषज्ञ डा. शंकरप्रसाद साहको उपस्थिति थियो। कार्यक्रमको सहजिकरण अस्पतालका महाप्रबन्धक दीपेश राईले गरेका थिए।
कार्यक्रममा कोक्लियर इम्प्लान्टको प्रक्रिया, यसको स्वास्थ्य लाभ र नेपालमा यसको उपलब्धताका विषयमा विस्तृत जानकारी दिइयो। विशेषगरी जन्मजात या बाल्यकालमै श्रवणशक्ति गुमाएका बालबालिकाहरूका लागि यो प्रविधि अत्यन्तै लाभदायक हुने बताइएको छ। समयमै उपचार गरिएमा तिनीहरू सामान्य जीवनयापन गर्न सक्ने अवस्था बनाउने चिकित्सकहरूको भनाइ छ।
डा. शंकरप्रसाद साहको नेतृत्वमा हालै सम्पन्न कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफल भएको र त्यसपछि ती बालबालिकाले श्रवणशक्ति प्राप्त गरेको जानकारी दिइएको छ। उक्त सफलताको पृष्ठभूमिमा उपस्थित सबैले खुसी व्यक्त गरेका थिए।
पत्रकारहरूको विभिन्न जिज्ञासाहरूलाई डा. मीनाक्षी बस्नेत, डा. शंकरप्रसाद साह र निर्देशक प्रा.डा. राजेश नेपालले स्पष्ट पार्दै प्रविधिको कार्यविधि र प्रभावकारिताबारे जानकारी दिएका थिए।
कार्यक्रमको अन्त्यतिर सफल शल्यक्रियाबाट सामान्य जीवनमा फर्किएका बालबालिकाहरू र उनीहरूका परिवारले आफ्नो अनुभव सुनाएका थिए। आफ्ना सन्तानले फेरि सुन्न र बोल्न थालेको खुसी व्यक्त गर्दै उनीहरूले कोक्लियर इम्प्लान्ट प्रविधिले ल्याएको परिवर्तनलाई “जिवनको पुनर्जन्म” जस्तै भएको बताए।
नोबेल शिक्षण अस्पतालले यस्तो उच्चस्तरीय प्रविधिको स्थायी उपलब्धता गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
