हरिनारायण चौधरीलाई १० औं वार्षिकोत्सव र अभिभावक दिवसमा सम्मान
एलएन गच्छदार / सुन्दरहरैंचा
मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नं. ४ का समाजसेवी श्री हरिनारायण चौधरीलाई चिल्ड्रेन मण्टेश्वरी स्कूलले १० औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा सम्मानित गरेको छ।
चिल्ड्रेन मण्टेश्वरी स्कूल, जो सृजनात्मक र प्रतिभावान शिक्षा प्रदान गर्ने प्रतिष्ठित शैक्षिक संस्था हो, आफ्नो १० औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा समाजसेवी र शैक्षिक क्षेत्रका महत्वपूर्ण व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।
विद्यालयले सदैव समाजमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने परंपरा कायम राख्दै आएको छ। यसरी सम्मानित हुने व्यक्तिहरूमा समाजसेवी, शिक्षक, अभिभावक र अन्य शैक्षिक तथा सामाजिक क्षेत्रका योगदानकर्ता शामिल छन्। यसै क्रममा, चिल्ड्रेन मण्टेश्वरी स्कूलले १० औं वार्षिकोत्सवको अवसरमा श्री हरिनारायण चौधरीलाई पनि सम्मानित गरेको हो।
उहाँले आदर्श आधारभूत विद्यालय सुन्दरहरैंचा-४, वडहराको संस्थापक अध्यक्षको रूपमा कार्य गर्नुभएको छ र हाल सल्लाहकारको रूपमा काम गरिरहनु भएको छ। त्यस्तै, साजिलाल मा.वि. सुन्दरहरैंचा-६, श्रीखण्ड मा.वि. सुन्दरहरैंचा-३, र पञ्चायत मा.वि. सुन्दरहरैंचा-७ का विद्यालय व्यवस्थापन समितिमा सदस्यको रूपमा लामो समयसम्म योगदान पुर्याउनु भएको छ।
पिता असीलाल चौधरी र माता सुहानी चौधरीको कोखबाट वि.सं. २०१०, चैत १४ गते जन्मनुभएको चौधरीले शैक्षिक र सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनु भएको छ।
चौधरी नेपाल रेडक्रस सोसाइटीका आजिवन सदस्य हुनुहुन्छ र रेडक्रस दुलारी शाखाका अध्यक्षको रूपमा कार्य गरिरहनु भएको छ। उहाँ गछिया खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष र दर्जनौं सामाजिक संघ-संस्थाका सम्माननीय पदमा रहि शैक्षिक र सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आउनु भएको छ।
उहाँको उच्च सेवा र योगदानलाई सम्मान गर्दै चिल्ड्रेन मण्टेश्वरी स्कूल परिवारले १० औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा सम्मान प्रदान गरेको हो। साथै, उहाँकी धर्मपत्नी श्री उषादेवी चौधरीलाई पनि यहाँको सधै साथ र उत्प्रेरणाको लागि धन्यवाद व्यक्त गर्दै सम्मान गरिएको छ।
विद्यालयका अध्यक्ष मोहन प्रसाद ढकाल, प्रमुख अतिथी राम कुमार कार्की (जेष्ठ नागरिक समाजका अध्यक्ष), र प्रिन्सिपल सन्तोष कुमार राईले हरिनारायण चौधरी र उहाँको परिवारको सुख, शान्ति, सुस्वास्थ्य, दीर्धायु तथा आगामी प्रगतिको मंगलमय शुभकामना व्यक्त गरेका छन्। चौधरी जस्ता प्रेरणादायक व्यक्तित्वहरूको सम्मान गरेर विद्यालयले शिक्षाको क्षेत्रसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई निरन्तर अघि बढाउँदै आएको छ। यसबाट अन्य व्यक्तिहरूलाई पनि समाज र शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ।
चिल्ड्रेन मण्टेश्वरी स्कूलको यो प्रयास समाजका विभिन्न वर्गलाई एकजुट गर्दै शैक्षिक, सामाजिक र सांस्कृतिक समृद्धिको दिशामा अघि बढ्न मद्दत पुर्याउँदै आएको छ।


