सुन्दरहरैंचामा अपाङ्गता भएका व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
एलएन गच्छदार
सुन्दरहरैंचा— मोरङको सुन्दरहरैंचा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगर उपप्रमुख अकली चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा अपाङ्गता भएका नागरिकहरूको हक, अधिकार, सेवा-सुविधा तथा स्थानीय सरकारको योजनाबारे छलफल गरिएको थियो।
नगरपालिकाका अनुसार १ नम्बरदेखि १२ नम्बर वडासम्म कार्यक्रम सञ्चालन गरिसकेको छ जसअनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई अगामी योजनामा आवश्यक सामग्री वितरण गरीने बताएका छन । नगर उपप्रमुख चौधरीले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै शिक्षा, रोजगारी तथा पूर्वाधारमा सहजीकरण गर्ने आश्वासन दिनुभयो।
अन्तरक्रिया कार्यक्रममा सहभागी भएका अपाङ्गता भएका नागरिकहरूले आफ्ना भोगाइ, चुनौती तथा आवश्यकताबारे जानकारी गराएका थिए। उनीहरूले विशेष गरी भौतिक पूर्वाधार, स्वास्थ्य सेवा, रोजगारी र शिक्षामा पहुँचलाई प्रभावकारी बनाउन नगरपालिकाले थप पहल गर्नुपर्ने माग गरेका छन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, अधिकारकर्मीहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।
महिला तथा बालबालिका शाखा प्रमुख साबित्रा खडकाका अनुसार सुन्दरहरैंचा नगरपालिकामा जम्मा १,५२० जना अपाङ्गता भएका व्यक्ति रहेका छन्, जसमा रातो कार्ड ४६९, निलो कार्ड ६९२,पहेलो कार्ड २६९ र सेतो कार्ड ९० रहेका छन्।
नगरपालिकाले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि विशेष कार्यक्रम ल्याउने योजना बनाएको जानकारी दिएको छ।





