कोशी प्रदेशमा मंसिर १७ गते हस्तलेखन तथा वक्तृत्वकला प्रतियोगिता हुने, विवरण बुझाउने अन्तिम मिति मंसिर १४

एलएन गच्छदार /  सुन्दरहरैंचा 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन), कोशी प्रदेशले माध्यमिक तह (कक्षा ६–१०) का विद्यार्थीलाई लक्षित गर्दै हस्तलेखन तथा वक्तृत्वकला प्रतियोगिता आगामी मंसिर १७ गते बुधबार बिहान ११ बजे बिराटचोकस्थित श्री इन्द्रपुर इ.बो. स्कूलमा आयोजनाको तयारी पूरा गरेको जनाएको छ। लामो समयदेखि कुनै पनि प्रदेशस्तरीय कार्यक्रम सञ्चालन हुन नसकेको अवस्थालाई सक्रिय बनाउने उद्देश्यले विद्यार्थीकै सिर्जनात्मक क्षमता, भाषिक दक्षता र प्रस्तुतिकरण कौशल अभिवृद्धि गर्न उक्त कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिँदै नेशनल प्याब्सन, कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालले विद्यार्थीहरूलाई प्रदेशस्तरमै आफ्नो प्रतिभा प्रदर्शन गर्न अवसर दिनु नै प्रमुख उद्देश्य भएको बताउनुभयो। उहाँका अनुसार जिल्लास्तरीय समिति र अध्यक्षहरूलाई धेरैभन्दा धेरै विद्यालय सहभागी गराई कार्यक्रममा उत्साहजनक वातावरण बनाइदिन आग्रह गरिएको छ।

खनालका अनुसार हस्तलेखन प्रतियोगिता नेपाली र अङ्ग्रेजी दुवै विषयमा सञ्चालन हुनेछ। प्रत्येक विद्यालयबाट नेपालीतर्फ १ र अङ्ग्रेजीतर्फ १ गरी जम्मा २ जना विद्यार्थी सहभागी हुन पाउनेछन्। हस्तलेखनका लागि दिइने विषयवस्तु निर्धारित समयमा पूरा गर्नुपर्ने, लेखाइ सुन्दर, शुद्ध र बाहिरबाट हेर्दा आकर्षक देखिनुपर्नेछ। अक्षर सिधा हुनुपर्ने, अक्षरहरूका बीचमा बराबर खाली स्थान रहनुपर्ने, नेपाली अक्षरहरूको आकार समान हुनुपर्ने र अङ्ग्रेजी अक्षरहरूका विभिन्न समूह— माथितिर उचाइ जाने अक्षर, आधाररेखामा बस्ने अक्षर तथा तल झर्ने अक्षर— प्रत्येक समूहभित्र समान आकारमा लेखिनुपर्ने मापदण्ड कायम गरिएको छ। साथै दुवै माध्यममा दुई लाइन भएको कापीमै मात्र लेख्नुपर्नेछ। निर्णायक मण्डलको निर्णय अन्तिम हुने आयोजकले स्पष्ट गरेको छ।

यस्तै वक्तृत्वकला प्रतियोगिता अङ्ग्रेजी भाषामा सञ्चालन हुनेछ। “नेपालमा जेन–जेड पुस्ताको आन्दोलनको प्रभाव” शीर्षकमा आधारित उक्त प्रतिस्पर्धामा प्रत्येक विद्यालयबाट एक विद्यार्थी मात्र सहभागी हुन पाउनेछन्। वक्ताले कुल ५ मिनेट बोल्न पाउनेछन्, ४ मिनेट पुग्दा संकेतका लागि पहिलो घण्टी बजाइनेछ र अन्तिम घण्टीपछि बोलेको कुरा तुरुन्तै रोक्नुपर्नेछ। प्रतियोगीले कुनै पनि प्रकारका कागज, टिपोट, नोट वा सहायक सामग्री प्रयोग गर्न नपाइनेछ। अभिव्यक्तिका क्रममा कुनै जाति, भाषा, धर्म, भूगोल वा सम्प्रदायमाथि नकारात्मक टिप्पणी गर्न निषेध गरिएको छ। निर्णायक मण्डलको निर्णय नै अन्तिम मानिनेछ।

सहभागी विद्यार्थीहरूको विवरण मंसिर १४ गते आइतबारसम्म जिल्ला समितिमार्फत अनिवार्य रूपमा कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनाललाई उपलब्ध गराइसक्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *