मिक्लाजुङ गाउँपालिकामा ५ दिने महिला लक्षित उद्घोषण तालिम सम्पन्न

उर्लाबारी / फागुन ५ गते
मिक्लाजुङ गाउँपालिकाको आयोजनामा महिला जनप्रतिनिधि क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत ५ दिने महिला लक्षित उद्घोषण तालिम सम्पन्न भएको छ। जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि. को सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा ३५ जना भन्दा बढी महिला सहभागी भएका थिए।

तालिमका प्रशिक्षकहरू सेवक बंजगाई र एलएन गच्छदारले अडियो, भिडियो तथा खेल माध्यम द्वारा प्रशिक्षण दिएका थिए। सहभागीहरूले उद्घोषण कला, प्रभावकारी बोल्ने सीप, प्रस्तुतीकरण कला, संवाद शैली सुधार लगायतका महत्वपूर्ण विषयमा ज्ञान हासिल गरेका छन्।

प्रशिक्षक एलएन गच्छदारले प्रशिक्षणको क्रममा प्रेरणादायी व्यक्तित्वहरू मुनिवा मजारी र एलन मस्कको उदाहरण दिँदै भने, “जसले असम्भव ठान्छ, उसले कहिल्यै सफलता हासिल गर्न सक्दैन। मुनिवा मजारी, जसले दुर्घटनापछि अपांगता सामना गर्नुपर्‍यो, तर उनी विश्वकै ख्यातिप्राप्त मोटिभेसनल स्पीकर बनिन्। एलन मस्क, जसले आफ्ना असफलताबाट सिक्दै स्पेस एक्स, टेस्ला जस्ता कम्पनीहरू सफल बनाए।”  उनले सहभागीहरूलाई कहिल्यै हिम्मत नहार्न, आफूभित्रको क्षमतालाई चिन्ने र निरन्तर प्रयास गर्ने सन्देश दिए।

तालिमको समापन समारोहमा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले सहभागीहरूलाई शुभकामना व्यक्त गर्दै, सिकेका सीपहरू व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए। उनले थपे, “गाउँपालिकाले आगामी दिनमा पनि यस्ता उपयोगी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न आवश्यक छ।”
प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर ले कार्यक्रम सफल भएको बताउँदै, यस्ता प्रभावकारी तालिमहरू निरन्तर सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे।

तालिममा सहभागी सुमित्रा नेपाल ले आफ्नो बोल्ने शैलीमा निखारता र माधुर्यता आएको अनुभव सुनाइन्। मिक्लाजुङ् गाउँपालिका  वडा नं. ७ का सदस्य पवित्रा विश्वकर्मा ले तालिमबाट धेरै नयाँ कुरा सिक्न पाएको बताउँदै, महिलाहरूको आत्मविश्वास अभिवृद्धि गर्ने यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखिन्।

वडा नं. ९ का अध्यक्ष सेमन्त राज दाहाल ले तालिम समापन कार्यक्रममा आफ्नो विचार राख्दै भने, “यस्ता तालिमहरूले महिलाहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छन्। उद्घोषण कला मात्र नभई, आत्मविश्वास र नेतृत्व विकासमा समेत यसले ठूलो मद्दत गर्छ। सहभागी महिलाहरूले यहाँ सिकेका सीप व्यवहारमा उतार्न सकेमा मात्र तालिमको पूर्ण उपयोग हुनेछ।”

कार्यक्रम निर्देशक पार्वती गच्छदार ले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गर्नुपर्ने बताउँदै, महिलाहरूको सशक्तिकरणका लागि उद्घोषण कला महत्त्वपूर्ण हुने विचार व्यक्त गरिन्।

समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। तालिमले सहभागी महिलाहरूलाई उद्घोषण कलामा दक्ष बनाउने मात्र नभई, उनीहरूलाई नेतृत्व विकासका लागि प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *