सुन्दरहरैंचा नगरपालिकामा समेत पहिलो पटक बौद्धिक अपाङ्गता दिवस मनाईयो
एलएन गच्छदार / सुन्दरहरैंचा, मोरङ ।
सुन्दरहरैंचा नगरपालिकामा समेत पहिलो पटक बौद्धिक अपाङ्गता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। “हाम्रोबारे निर्णय हामीसँगै, हामीलाई बुझेर” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको आयोजना बौद्धिक अपाङ्गता अभिभावक संघ मोरङ ले गरेको थियो भने बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपाल (PFPLD Nepal) को सहकार्य रहेको थियो।
कार्यक्रममा बोल्दै बौद्धिक अपाङ्गता अभिभावक संघ मोरङकी फिल्ड अफिसर उर्मिला सुवेदीले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको जिम्मेवारी केवल अभिभावकको मात्र नभई राज्यको पनि भएको बताइन्। उनले यस्ता व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा रोजगारीका अवसरमा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
सुन्दरहरैंचा नगरपालिकाकी कार्यपालिका सदस्य रुकमणी घिमिरे ले बौद्धिक अपाङ्गता दिवसको शुभकामना व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक जीवनका लागि स्थानीय तह प्रतिबद्ध रहेको बताइन्।
त्यसैगरी, वडा अध्यक्ष कैलाश बस्नेत ले बौद्धिक अपाङ्गता भएका बालबालिका तथा उनीहरूका परिवारले भोग्दै आएका समस्यालाई स्थानीय सरकारले गम्भीर रूपमा लिएको उल्लेख गरे। उनले अभिभावकका समस्या बुझ्दै आवश्यक सहयोग, सेवा र सुविधाको व्यवस्था गर्न नगरपालिकाले सक्दो प्रयास गरिरहेको बताए।
कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, खाद्य सुरक्षालगायत आधारभूत आवश्यकतामा सहज पहुँच दिलाउनुपर्ने विषयमा छलफल भएको थियो। साथै उनीहरूको सीप, कला तथा क्षमताको विकास गरी स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
वक्ताहरूले बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै पर्याप्त नभएको उल्लेख गर्दै सुन्दरहरैंचा नगरपालिकामा हाल दुई विद्यालयमा मात्र विशेष शिक्षाको व्यवस्था रहेकाले त्यसलाई विस्तार गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार सुन्दरहरैंचा नगरपालिकामा हाल १४५ जना बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरू रहेको जनाइएको छ। उनीहरूको अवस्था सुधार, परिवारलाई सहयोग तथा आवश्यक सेवामा पहुँच बढाउन स्थानीय तह, प्रदेश र संघीय सरकारले समन्वित योजना बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।
सहभागीहरूले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका परिवारका समस्या बुझेर नीति तथा कार्यक्रम निर्माण गरिनुपर्नेमा जोड दिँदै समावेशी समाज निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।





