ससुराली पक्षका चार जनाको हत्या
भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एक युवकले ससुराली पक्षका चार जनाको विभत्स हत्या गरेका छन्। भोजपुर नगरपालिका–२ हेलौँछाका ३० वर्षीय राजेन्द्र राईले आइतबार राति आफ्ना ससुरा, सासू, श्रीमती र सालोको धारिलो हतियार प्रयोग गरी ज्यान लिएका हुन्।
मृतकहरूमा ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया मनीषा गिरी र ९ वर्षीय सपन गिरी छन्। मनीषा गिरी राजेन्द्र राईकी श्रीमती थिइन्। करिब सात महिनाअघि मनीषा कपडा किन्न भोजपुर सदरमुकाम गएकी थिइन्। त्यहीँबाट उनी राजेन्द्रसँग भागेकी थिइन् र उनीहरूबिच विवाह भएको थियो। तर, मनीषा नाबालिग भएकाले उनको परिवारले यो विवाह मान्यता दिएको थिएन।
स्थानीयका अनुसार पछिल्लो केही दिनदेखि मनीषा माइतमा थिइन्। १० दिनअघि राजेन्द्र उनलाई लिन ससुराली गएका थिए। तर, छोरीलाई आफूसँग नपठाएको विषयमा विवाद चर्कँदै गएपछि उनले आइतबार राति चक्कु प्रहार गरेर चार जनाको हत्या गरेको प्रारम्भिक अनुमान छ।
घटनामा गम्भीर घाइते भएका राजेन्द्रलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार घटना मध्यरातमा भएको थियो। सोही रात उनले प्रहरीलाई फोन गरी “मैले चार जनाको हत्या गरेँ, मलाई समात्न आउनुहोस्” भनेका थिए।
राजेन्द्रले आफू सुतिरहेको बेला सासूले चक्कु प्रहार गरेपछि त्यसै हतियार खोसेर सबैको हत्या गरेको दाबी गरेका छन्। यद्यपि, घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यो पनि – १६ वर्षीया श्रीमती र ९ वर्षीय सालो सहित ४ जनाको हत्या गरेका राजेन्द्रको अवस्था गम्भीर, जिल्ला अस्पतालले दियो रेफर । । । जब मध्यरातमा ४ जना मान्छे मारेको छु, मलाई समात्न आउनू भन्दै राजेन्द्रले प्रहरीलाई फोन गरे…
