विश्व वातावरण दिवसमा सुन्दरहरैँचामा वृहत् बाँस वृक्षारोपण
सुन्दरहरैँचा (मोरङ), असार २२ — विश्व वातावरण दिवस २०२६ को अवसरमा मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाको कटान नियन्त्रण, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणका लागि वृहत् बाँस वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
पूर्वाञ्चल कलेज अफ इन्भाइरोमेन्ट एन्ड फरेष्ट्री, जी.पी. कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टर तथा कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बाँस रोपणमार्फत वातावरणीय सन्तुलन कायम राख्ने, नदी कटान न्यूनीकरण गर्ने तथा जलवायु परिवर्तनका असरहरू कम गर्ने विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले वातावरण संरक्षण वर्तमान पुस्ताको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको साझा दायित्व भएको उल्लेख गरे। उनले हरित प्रदेश निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिनुका साथै स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।
“वातावरणीय संकट विश्वव्यापी चुनौतीका रूपमा देखिएको छ। यसको समाधानका लागि सरकार, शैक्षिक संस्था र समुदायबीचको सहकार्य अझ सशक्त हुनुपर्छ,” मन्त्री पराजुलीले भने।
मन्त्रालयका सचिव डा. ईन्द्रप्रसाद सापकोटाले बाँसलाई वातावरणीय तथा आर्थिक दृष्टिले महत्वपूर्ण वनस्पतिको रूपमा व्याख्या गर्दै यसको प्रयोगले भूक्षय नियन्त्रण, कार्बन अवशोषण तथा जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए।
सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले नगर क्षेत्रलाई वातावरणमैत्री बनाउने अभियानअन्तर्गत वृक्षारोपण, खुला क्षेत्र संरक्षण तथा हरियाली विस्तारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए।
“दिगो विकासका लागि विकास र वातावरणबीच सन्तुलन कायम गर्न आवश्यक छ। हरित नगर निर्माणमा सबै नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ,” उनले भने।
कार्यक्रमका अध्यक्ष तथा पूर्वाञ्चल कलेज अफ इन्भाइरोमेन्ट एन्ड फरेष्ट्री एवं जी.पी. कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टरका निर्देशक (प्रमुख) सहायक प्राध्यापक शन्नि कुमार साहले वृक्षारोपण अभियानलाई एकदिने कार्यक्रमका रूपमा सीमित नराखी दीर्घकालीन संरक्षण र संवर्द्धनसँग जोड्नुपर्नेमा जोड दिए।
“रुख रोप्नु मात्रै पर्याप्त हुँदैन, त्यसको संरक्षण र हुर्काउने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ,” उनले भने।
कार्यक्रमबारे जानकारी दिँदै कलेजका सिनियर अफिसर देबीप्रसाद कट्टेलले वातावरण संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार सरकारी निकाय, शैक्षिक संस्था, सामाजिक संघसंस्था तथा स्थानीय समुदायको सहकार्यमा सम्पन्न कार्यक्रमले वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ।
विद्यार्थी, शिक्षक, सामाजिक अभियन्ता, स्थानीयवासी तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा गछिया खोला आसपासका क्षेत्रमा बाँसका बिरुवा रोपिएका थिए।
आयोजकहरूले वृहत् बाँस वृक्षारोपण अभियानले नदी कटान नियन्त्रण, हरित वातावरण निर्माण, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। विश्व वातावरण दिवसका अवसरमा सम्पन्न कार्यक्रमले वातावरण संरक्षण र दिगो विकासका लागि सामूहिक प्रयासको आवश्यकतालाई पुनः स्मरण गराएको सहभागीहरूको भनाइ थियो।






