सुन्दरहरैँचामा सार्वजनिक सुनुवाइ सम्पन्न, नागरिकका गुनासा र सुझावमाथि नगर नेतृत्वको जवाफ
एल.एन. गच्छदार
सुन्दरहरैँचा (मोरङ) – स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउने उद्देश्यले सुन्दरहरैँचा नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरवासीहरूले शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार विकास, खानेपानी, सरसफाइ, कृषि, सामाजिक सुरक्षा भत्ता लगायतका सार्वजनिक सेवासम्बन्धी जिज्ञासा, सुझाव तथा गुनासाहरू राखेका थिए।
कार्यक्रममा नगर प्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्ष तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। सहभागी नागरिकहरूले उठाएका प्रश्नहरूको सम्बन्धित पदाधिकारीहरूले प्रत्यक्ष जवाफ दिँदै नगरपालिकाले सञ्चालन गरिरहेका योजना, सेवा प्रवाहको अवस्था तथा आगामी कार्यक्रमबारे जानकारी गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईंले सार्वजनिक सुनुवाइ स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण माध्यम भएको बताए। नागरिकबाट प्राप्त सुझाव तथा गुनासाहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्दै आगामी नीति, योजना तथा कार्यक्रम निर्माणमा समावेश गरिने प्रतिबद्धता उनले व्यक्त गरे।
उपप्रमुख चौधरीले सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै नागरिकको सक्रिय सहभागिताले स्थानीय सरकारलाई थप उत्तरदायी बनाउन सहयोग पुग्ने धारणा राखिन्।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सार्वजनिक सेवामा सहज पहुँच, विकास योजनाको गुणस्तरीय कार्यान्वयन, पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धिका विषयमा विभिन्न सुझाव प्रस्तुत गरेका थिए।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण सञ्चारकर्मी बाबुराम निरौलाले गरेका थिए भने प्राविधिक सहयोग रेडियो सुसेलीले उपलब्ध गराएको थियो।
स्थानीय सरकार सञ्चालनमा नागरिक सहभागिता र सामाजिक उत्तरदायित्वलाई सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाइले स्थानीयवासीका गुनासा, जिज्ञासा र सुझावलाई सम्बन्धित निकायसमक्ष प्रत्यक्ष रूपमा राख्ने अवसर प्रदान गरेको नगरपालिकाले जनाएको छ।
