सुन्दरहरैंचाका बमबहादुरको खाताबाट ८९ हजार रुपैयाँ गायब, साइबर ठगीको आशंका
सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा नगरपालिका–९ निवासी बमबहादुर विश्वकर्माको बैंक खाताबाट ८९ हजार २ सय १० रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर भएको घटनाले स्थानीय तहमा चिन्ता बढाएको छ। पीडित विश्वकर्माले आफू कुनै पनि कारोबार नगरेको अवस्थामा खाताबाट रकम गायब भएको भन्दै सम्बन्धित निकायसँग न्यायको माग गरेका छन्।
विश्वकर्माका अनुसार जेठ २१ गते बिहीबार बेलुका करिब ५ बजेपछि उनको मोबाइलमा बैंक खातासँग सम्बन्धित पासवर्ड तथा पिन परिवर्तन गर्नुपर्ने विषयको सन्देश आएको थियो। उक्त सन्देश प्राप्त भएपछि उनले तुरुन्तै राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप खोलेका थिए। एप खोल्ने बित्तिकै आफ्नो खाताबाट रकम कटौती भएको सूचना प्राप्त भएको उनले बताए।
उनका अनुसार खाताबाट ८९ हजार २ सय १० रुपैयाँ शेख अब्दुल नामका व्यक्तिको माछापुच्छ्रे बैंकको खातामा ट्रान्सफर भएको देखिएको छ। त्यसपछि उक्त रकम अर्को खातामा समेत सारिएको विवरण देखिएको भन्दै उनले आफू साइबर ठगीको शिकार भएको आशंका व्यक्त गरेका छन्।
घटनापछि शुक्रबार बिहान उनी समस्या समाधानका लागि राष्ट्रिय वाणिज्य बैंक पुगेका थिए। तर बैंकले रकम माछापुच्छ्रे बैंकमा गएको भन्दै त्यहाँ सम्पर्क गर्न सुझाव दिएको उनले बताए। त्यसपछि उनी माछापुच्छ्रे बैंक पुगेका थिए। माछापुच्छ्रे बैंकले आवश्यक प्रक्रिया पूरा गर्न भन्दै इलाका प्रहरी कार्यालय बेलबारीबाट कागजात ल्याउन आग्रह गरेको विश्वकर्माले जानकारी दिए।
प्रहरी कार्यालय बेलबारीमा निवेदन दिएर आवश्यक कागजात संकलन गरेपछि पुनः माछापुच्छ्रे बैंक पुगेका उनले बैंकलाई सम्पूर्ण विवरण बुझाएका थिए। तर बैंकले अनुसन्धान प्रक्रिया पूरा गर्न दुईदेखि तीन सातासम्म लाग्न सक्ने जानकारी दिएको उनको भनाइ छ।
पीडित विश्वकर्माले सरकारी बैंकहरूमार्फत हुने डिजिटल कारोबारमा समेत ठगीका घटना बढ्दै गएको भन्दै सम्बन्धित निकायले यस्ता घटनाको गम्भीर अनुसन्धान गर्नुपर्ने बताए। “मैले कुनै व्यक्तिलाई ओटीपी, पासवर्ड वा बैंक विवरण दिएको थिइनँ। अचानक पैसा हरायो। यस्तो घटना अरू कसैलाई नहोस्,” उनले भने।
उनले मोबाइल बैंकिङ तथा डिजिटल भुक्तानी सेवा प्रयोग गर्ने सबै सेवाग्राहीलाई सतर्क रहन आग्रह गर्दै अपरिचित लिंक, सन्देश वा फोनकलको भर नपर्न सुझाव दिएका छन्। यस घटनाबारे सम्बन्धित बैंक तथा प्रहरी निकायले अनुसन्धान अघि बढाएको बताइएको छ। प्रारम्भिक रूपमा साइबर अपराध वा अनधिकृत पहुँचमार्फत रकम स्थानान्तरण भएको हुन सक्ने आशंका गरिए पनि घटनाको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ।
बैंकिङ तथा साइबर सुरक्षाका विज्ञहरूले पछिल्लो समय मोबाइल बैंकिङ, फिसिङ लिंक, नक्कली एप तथा ओटीपी ठगीका घटना बढ्दै गएको उल्लेख गर्दै प्रयोगकर्तालाई आफ्नो पासवर्ड, पिन नम्बर र ओटीपी कसैसँग पनि साझा नगर्न तथा शंकास्पद गतिविधि देखिए तुरुन्त बैंक र प्रहरीलाई जानकारी गराउन सुझाव दिएका छन्।





