अब बस यात्रामा पनि लगेज ट्याग अनिवार्य,जेठ १५ देखि लामो दूरीका सवारीमा नयाँ सुरक्षा प्रणाली लागू हुँदै

काठमाडौं ।  अब काठमाडौं उपत्यकाबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको लगेज सुरक्षित राख्न ‘लगेज ट्याग प्रणाली’ लागू गरिने भएको छ। यात्रुको झोला हराउने, साटिने तथा चोरी हुने समस्या नियन्त्रण गर्न ट्राफिक प्रहरी र यातायात व्यवसायीले संयुक्त रूपमा यो व्यवस्था सुरु गर्न लागेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच शुक्रबार भएको सम्झौताअनुसार आगामी जेठ १५ गतेदेखि लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा विशेष ट्याग अनिवार्य गरिनेछ। यात्रुलाई दिइने ट्याग नम्बर र बसमा राखिएको सामानको नम्बर मिलाएपछि मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था मिलाइने भएको छ।

सम्झौतापत्रमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका छन्।

ट्राफिक प्रहरीका अनुसार सार्वजनिक यातायातमा बढ्दै गएको लगेज चोरी, झोला हराउने तथा अवैध गतिविधि नियन्त्रण गर्न यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो व्यवस्था लागू गर्न लागिएको बताए। उनले सार्वजनिक सवारी साधनलाई थप सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्य गरिएको उल्लेख गरे।

महासङ्घका अध्यक्ष सिटौलाले हवाई सेवामा जस्तै अब बस यात्रामा पनि आधुनिक लगेज व्यवस्थापन प्रणाली लागू गर्न लागिएको बताए। उनका अनुसार नयाँ प्रणालीले झोला साटिने, गलत व्यक्तिले लगेज लैजाने तथा हराउने समस्या कम गर्नेछ। यातायात व्यवसायीका अनुसार विशेषगरी चाडपर्व, रात्रीकालीन यात्रा तथा भीडभाडका बेला सामान हराउने गुनासा धेरै आउने गरेका थिए। सुरक्षा निकायले सार्वजनिक सवारीमार्फत हुने चोरी तथा अवैध वस्तु ओसारपसारप्रति पनि चिन्ता व्यक्त गर्दै आएको थियो।

नयाँ व्यवस्थाअनुसार बस काउन्टरमै यात्रुको सामानमा कोड वा नम्बरयुक्त ट्याग लगाइनेछ। सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ र गन्तव्यमा पुगेर नम्बर मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिनेछ। ट्राफिक प्रहरीले आगामी दिनमा क्यूआर कोड तथा डिजिटल रेकर्ड प्रणालीसमेत जोड्ने तयारी भइरहेको जनाएको छ।

यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३’ पनि सुरु गरेको छ। वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा सवारी अवरोधलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ। प्रहरीका अनुसार मनसुन अवधिमा सवारी साधनको प्राविधिक परीक्षण, चालकको स्वास्थ्य जाँच, जोखिमयुक्त सडकको निगरानी तथा यात्रु सचेतना कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *