डम्पिङ साइट विवादले बिर्तामोड अस्तव्यस्त ,एक सातादेखि फोहोर संकलन बन्द, वैकल्पिक व्यवस्थापनको माग तीव्र

झापा — डम्पिङ साइटलाई लिएर स्थानीयवासी र नगरपालिकाबीच विवाद चर्किएपछि बिर्तामोड नगरपालिकामा एक सातादेखि फोहोर संकलन पूर्ण रूपमा ठप्प भएको छ। नियमित रूपमा फोहोर उठ्ने सेवा बन्द भएपछि नगर क्षेत्रका बासिन्दा दुर्गन्ध, फोहोर थुप्रिने समस्या र स्वास्थ्य जोखिमसँग जुध्न बाध्य भएका छन्।

नगरको फोहोर व्यवस्थापनको जिम्मा पाएको निराकार सरसफाइ प्रा.लि.ले डम्पिङ साइट क्षेत्रमा उत्पन्न अवरोधका कारण नियमित संकलन गर्न नसकिएको जनाएको छ। कम्पनीका अनुसार विवाद समाधान भएपछि मात्रै सेवा पुनः सञ्चालन गर्न सकिने अवस्था रहेको छ। स्थानीयवासीले भने मासिक रूपमा लाखौँ रुपैयाँ शुल्क उठाउने कम्पनी र नगरपालिकाले दीर्घकालीन समाधान खोज्न नसकेको आरोप लगाएका छन्। समस्या आउँदा जिम्मेवारी एकअर्कामाथि थोपर्ने प्रवृत्तिले नगरवासी थप सास्तीमा परेको उनीहरूको गुनासो छ।

हालसम्म बिर्तामोड–६ स्थित बुट्टाबारी पूर्वको क्षेत्रमा नगरको फोहोर व्यवस्थापन हुँदै आएको थियो। तर मसले टोल क्षेत्रका स्थानीयले वातावरणीय असर बढेको भन्दै फोहोर बोकेका सवारीसाधन प्रवेशमै रोक लगाएपछि व्यवस्थापन पूर्ण रूपमा अवरुद्ध बनेको हो। स्थानीयका अनुसार पूर्वजानकारीबिनै लगातार फोहोर थुपारिँदा देउनिया खोला आसपास दुर्गन्ध फैलिएको, पानीको निकास अवरुद्ध भएको तथा खोलामा फोहोर बग्ने समस्या बढेको छ। यसले वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष असर पारेको उनीहरूको भनाइ छ।

मसले टोल विकास संस्थाका अध्यक्ष देवी नेपालले दीर्घकालीन विकल्प खोज्न नगरपालिकासँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर विरोधमा उत्रिनुपरेको बताए। उनले सीमित अवधिसम्म मात्रै फोहोर व्यवस्थापन गर्न दिने र त्यसपछि अन्यत्र वैकल्पिक स्थान खोज्नुपर्ने स्थानीयको अडान रहेको जानकारी दिए।

स्थानीयले तटबन्ध निर्माण, फोहोर छोप्ने व्यवस्था, थुनिएको पानीको निकास खोल्ने तथा वातावरणीय प्रभाव न्यूनीकरणका उपाय तत्काल लागू गर्नुपर्ने मागसमेत अघि सारेका छन्। नगरपालिकाले भने उक्त क्षेत्रमा फोहोर व्यवस्थापनका लागि विगत दुई वर्षदेखि लाखौँ रुपैयाँ खर्च गर्दै आएको जनाएको छ। स्थानीयको मागअनुसार केही पूर्वाधार निर्माण गरिएपछि मात्रै व्यवस्थापन सुरु गरिएको भए पनि अहिले पुनः विरोध भएको नगरपालिकाको भनाइ छ।

बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले समस्या समाधानका लागि स्थानीयसँग छलफल भइरहेको बताए। उनका अनुसार नगरपालिकाले वैकल्पिक डम्पिङ साइट खोज्ने तथा दीर्घकालीन व्यवस्थापन योजना अघि बढाउने तयारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *