सुन्दरहरैचा नगरपालिकाले विश्व क्षयरोग दिवस विशेष कार्यक्रम गरी मनायो

एलएन गच्छदार / सुन्दरहरैंचा

मोरङको सुन्दरहरैचा नगरपालिकाले विशेष कार्यक्रमसहित विश्व क्षयरोग दिवस २०८१ मनाएको छ। “हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ” भन्ने नारासहित नगरपालिकाले क्षयरोग निवारण तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको हो।

सोमबार बिहान नगरपालिकाले ४० वर्षभन्दा माथिका नगरबासीका लागि मधुमेह, उच्च रक्तचाप र BMI (शरीर तौल अनुपात) जाँच गर्न निःशुल्क परीक्षण (स्क्रिनिङ) कार्यक्रम सञ्चालन गर्यो। नगर प्रमुखसहितको टोलीले घरदैलो कार्यक्रम गर्दै नगरबासीलाई स्वास्थ्य परीक्षण गराएको थियो।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाकी नगर उपप्रमुख अकली चौधरी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपप्रमुख अकली चौधरीले विश्व क्षयरोग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरपालिकाले स्वास्थ्य सेवामा विशेष प्राथमिकता दिएको बताइन्।

उनले समुदायस्तरमा स्वास्थ्य परीक्षण, सचेतना अभिवृद्धि तथा गुणस्तरीय सेवा प्रवाह गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरिन्।

 

क्षयरोग दिवसको ऐतिहासिक पृष्ठभूमि
सन् १८८२ को मार्च २४ मा डाक्टर रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएका थिए। त्यसपछि सन् १९८२ मा विश्व स्वास्थ्य संगठन (WHO) तथा अन्य संस्थाहरूले यही दिनलाई विश्व क्षयरोग दिवसको रूपमा मनाउने घोषणा गरेका थिए।

यो दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास तथा उपलब्धिलाई सम्झाउने अवसर प्रदान गर्छ। नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी यस दिवसलाई मनाइन्छ।

सुन्दरहरैचामा क्षयरोग नियन्त्रण अभियान सक्रिय
नगरपालिकाले क्षयरोग नियन्त्रण तथा रोकथामका लागि सचेतना कार्यक्रम, निःशुल्क परीक्षण, औषधि आपूर्ति तथा समुदायमा रोगबारे जानकारी गराउने कार्यलाई प्राथमिकता दिँदै आएको छ।

नगर प्रमुख केदार प्रसाद गुरागाईंको नेतृत्वमा गरिएको घरदैलो अभियानले नागरिकलाई स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी गराउँदै रोग पहिचान र रोकथाममा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *