एसईई परीक्षा केन्द्रमा ‘ह्वाट्सएप’ मार्फत चिट, दुई परीक्षा गार्ड पक्राउ
सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोराउन प्रविधिको दुरुपयोग भएको पाइएको छ। सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको परीक्षा भइरहेको बेला ‘ह्वाट्सएप’ प्रयोग गरी चिट चोराउने काममा संलग्न दुई जना परीक्षा गार्डलाई पक्राउ गरिएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार परीक्षा केन्द्रमा खटाइएका शिक्षकहरू मोबाइलमार्फत चिट चोराउन संलग्न रहेको सूचना पाएपछि अनुगमन टोलीले छापा मारेको थियो। टोलीलाई देखेपछि संलग्न शिक्षकहरूले मोबाइल अफ गरेका थिए।
तर, जाँच गर्दा शिक्षकहरूको मोबाइलमा ‘ह्वाट्सएप’ च्याटमार्फत विद्यार्थीको नाम, सिम्बल नम्बर, बोर्डिङ स्कुलको नामसहित जानकारी आदानप्रदान गरिएको प्रमाण भेटिएको थियो। घटनामा संलग्न सरस्वती माविमा खटाइएका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्कासन गरिएको प्रजिअ मिश्रले बताए।
प्रविधिको दुरुपयोग गर्दै परीक्षा प्रणालीमाथि खेलबाड गर्ने शिक्षकहरूलाई कानुनी कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ। यस घटनाले एसईई परीक्षाको गोपनीयता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।
