भारत भ्रमणमा रास्वपा सभापति रवि लामिछाने, मोदी र जयशंकरसँग भेट गर्ने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि भारत पुगेका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री, विदेशमन्त्री तथा सुरक्षा अधिकारीहरूसँग भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार पाँच दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भएको भ्रमणका क्रममा उनले भारतका उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल मा भाजपा महासचिव अरुण सिंह र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले ले स्वागत गरेका थिए।

भाजपा अध्यक्ष नितिन नवीन को निमन्त्रणामा लामिछाने पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा गएका हुन्। प्रतिनिधिमण्डलमा निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

भ्रमण तालिकाअनुसार लामिछानेले मंगलबार भाजपा मुख्यालयमा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नेछन्। त्यसपछि उनले नरेन्द्र मोदी, एस जयशंकर तथा अजित डोभाल सँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

रास्वपाले भ्रमणलाई दुई देशबीचको राजनीतिक संवाद, आपसी सम्बन्ध तथा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान गर्ने अवसरका रूपमा लिएको जनाएको छ। लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *