विराटनगर–जोगबनी सीमामा तस्करी नियन्त्रण गर्न काँडे तार, सुरक्षा निगरानी कडा
भारतसँग सीमा जोडिएको विराटनगर–जोगबनी नाकामा बढ्दो अवैध तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा काँडे तार जडान गरेको छ। तस्करहरूले प्रयोग गर्दै आएको संवेदनशील क्षेत्रलाई घेराबारा गर्दै सुरक्षा निगरानी थप कडा बनाइएको हो।
भारतसँगको खुला सीमामा अवैध सामान ओसारपसार बढ्दै गएपछि विराटनगर–जोगबनी नाकामा सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको छ। तस्करी नियन्त्रण गर्ने अभियानअन्तर्गत जोगबनीस्थित १ नम्बर ढाट नजिक नेपालतर्फको पर्खाल क्षेत्रमा काँडे तार जडान गरिएको हो।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख गेहेन्द्र भण्डारी का अनुसार स्वास्थ्य डेस्क पछाडिको क्षेत्रबाट अवैध रूपमा सामान भित्र्याउने गतिविधि बढेपछि आइतबार उक्त स्थानमा काँडे तार लगाइएको हो। उनका अनुसार पर्खालको केही भाग क्षतिग्रस्त भएपछि तस्करहरूले पोका पारेर सामान ल्याउने र पर्खाल नाघेर सीमा वारपार गर्ने क्रम बढेको थियो।सुरक्षा निकायले सीमित क्षेत्रलाई घेराबारा गरी तस्करीका सम्भावित मार्गहरू बन्द गर्न थालेको जनाएको छ। यससँगै सीमावर्ती क्षेत्रमा निगरानी र गस्तीसमेत बढाइएको छ।
यसैबीच, तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी टोलीले सोमबार मात्रै पाँच लाख ४८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। जोगबनी नाका, दरैयाबस्ती तथा अन्य खुला सीमाक्षेत्रबाट नियन्त्रणमा लिइएका ती सामान भन्सार कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीमा कस्मेटिक सामान, लत्ताकपडा तथा विभिन्न खाद्यान्न वस्तु रहेका छन्। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध आयात तथा तस्करी नियन्त्रणका लागि निरन्तर अभियान सञ्चालन गरिरहेको जनाएको छ।प्रहरीका अनुसार विराटनगरतर्फका विभिन्न पर्खाल तथा होटलमा बनाइएका करिब ३७ वटा प्वालसमेत बन्द गरिएको छ, जुन तस्करीका लागि प्रयोग हुने गरेको आशंका गरिएको थियो।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाइएको बताउँदै आगामी दिनमा पनि यस्ता नियन्त्रणात्मक उपायलाई निरन्तरता दिइने जनाएको छ।
