अपाङ्गता भएका बालिका तथा महिलाको न्यायमा पहुँच प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम
एलएन गच्छदार
सुन्दरहरैंचा, मोरङ। चैत १० गते आइतबार
सुन्दरहरैंचा नगरपालिका ४ नम्बर वडा कार्यालयमा अपाङ्गता भएका बालिका तथा महिलाको न्यायमा पहुँच प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम स्थानीय समन्वय बेलबारी र सुन्दरहरैंचा नगरपालिकाको संयोजन तथा LEADING FROM THE SOUTH को सहयोगमा ACCESS PLANET को आयोजनामा सम्पन्न भएको हो।
सुन्दरहरैंचा नगर उपप्रमुख अकली चौधरीले संविधान तथा कानुनमा व्यवस्था भएका यस्ता विषयलाई कसरी कार्यान्वयन गर्ने, कसरी तल्लो तहसम्म पुर्याउने, कार्यान्वयन नगर्ने निकायलाई कस्तो कारबाही गर्ने लगायतका सवालमा सरकारले ध्यान नदिँदा बनेका कानुन मात्र होइन, अपाङ्गताको सवाल नै ओझेलमा परेको गुनासो व्यक्त गरिन्। उनले अपाङ्गता भएका व्यक्तिहरूको लागि अपाङ्गतामैत्री भवन निर्माणका लागि संघीय सरकार संग १ करोड रुपैयाँ बजेट माग गरेको जानकारी गराइन्। साथै, संघीय सरकारसँग स्थानीय तहको पहुँच नपुगेका कारण धेरै समस्या सम्बोधन हुन नसकेको धारणा राखिन्।
यस्तै, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले लक्षित वर्गका लागि बजेट छुट्याउने परिपाटी २०६० सालदेखि निरन्तर रहँदै आएको उल्लेख गरे। उनले अघिल्लो वर्ष हिंसामा परेका बालबालिकाले उजुरी दिने ठाउँमा पुग्न नसकेको भन्दै उपमेयरको नेतृत्वमा छात्रा कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट आएका गुनासाहरूको समाधानका लागि सचेत गराउने कार्य सुरु गरिएको बताए। उनले नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ पनि ल्याइसकेको जानकारी गराउँदै उक्त ऐनले कानुन बमोजिम प्रदत्त अधिकारको उपभोग गर्न पाउने अधिकार, राजनीतिक सहभागिताको अधिकार, संरक्षणको अधिकार, सेवा सुविधा, न्यायमा पहुँचको अधिकार, सूचना तथा जानकारी पाउने अधिकार, सामाजिक सुरक्षालगायतका अधिकारको व्यवस्था गरेको बताए।
कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालले अपाङ्गता भएका व्यक्तिहरूलाई सहजीकरण गर्न प्रदेश सरकारले सहजकर्ता व्यवस्थापन र दोभासे तालिमको व्यवस्था गरेको जानकारी गराए। नगर सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै उनले विशेष गरी महिला अपाङ्गता किशोरीहरूको हकहित सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्ने धारणा व्यक्त गरे।

अपाङ्गता र महिला बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ACCESS PLANET की कार्यकारी निर्देशक लक्ष्मी नेपालले अपाङ्गता भएका व्यक्तिलाई न्याय प्रवर्द्धनमा कसरी पहुँच पुर्याउने र न्यायिक निकायले कसरी अपाङ्गतामैत्री क्षेत्रमा काम गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको बताइन्। साथै, सहभागी निकायहरूले आफ्नो प्रतिबद्धता जनाएका जानकारी गराइन्।
त्यसै गरी सुन्दरहरैंचा नगरपालिका न्यायिक समिति सदस्य रोशन उप्रेतीले अपाङ्गता भएका बालिका तथा महिलाको न्यायमा पहुँच प्रवर्द्धनमा सुन्दरहरैंचा सरकारले हिंसा, अन्याय र विभेदमा परेका व्यक्तिहरूलाई अनलाइन उजुरी, भ्वाइस कल तथा मौखिक उजुरी दिने व्यवस्था गरेको जानकारी गराए। साथै, कानुनी लडाइँका लागि निःशुल्क सेवासुविधा प्रदान गरिने बताए।
कार्यक्रममा न्यायिक समिति, मेलमिलापकर्ता, बेलबारी-सुन्दरहरैंचा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।






