हरैंचा मोडेल सेकेण्डरी स्कुलमा ‘आइडल’ कार्यक्रम सम्पन्न, पढाइसँगै प्रतिभा विकासमा जोड

सुन्दरहरैंचा 

सुन्दरहरैंचा नगरपालिका वडा–१ मा अवस्थित हरैंचा मोडेल सेकेण्डरी स्कुलले पढाइसँगै विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले विविध सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही क्रममा मंगलबार विद्यालय परिसरमा वक्तृत्व कला आइडल, नृत्य आइडल, चित्रकला आइडल र गायन आइडल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममार्फत विद्यार्थीहरूलाई आफ्ना विचार अभिव्यक्त गर्ने, सिर्जनशीलता प्रदर्शन गर्ने तथा आत्मविश्वास अभिवृद्धि गर्ने अवसर प्रदान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमअन्तर्गत वक्तृत्व कला आइडलतर्फ कक्षा ९ की प्रजना भट्टराई, नृत्य आइडलतर्फ कक्षा ९ की प्रतीका श्रेष्ठ, चित्रकला आइडलतर्फ कक्षा ७ की सोनाक्षी शाह र गायन आइडलतर्फ कक्षा ६ का मानिष राउत उत्कृष्ट घोषित भएका छन्। उत्कृष्ट विद्यार्थीहरूलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा, मेहनत र प्रस्तुति क्षमतालाई उजागर गरेको शिक्षकहरूको भनाइ छ।

विद्यालयका संस्थापक तथा प्रिन्सिपल रुद्र थापाले यस्ता कार्यक्रमले विद्यार्थीको सर्वांगीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अध्ययनसँगै सिर्जनात्मक गतिविधिमा सहभागी गराउनु विद्यालयको प्राथमिकता रहेको उल्लेख गरे। यस्तै विद्यालयका प्रबन्ध निर्देशक घनश्याम रिमालले भने, “आजको शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुनुहुँदैन। विद्यार्थीभित्र रहेको प्रतिभा पहिचान गरी त्यसलाई निखार्ने वातावरण सिर्जना गर्नु हाम्रो दायित्व हो। हरैंचा मोडेल सेकेण्डरी स्कुलले यही लक्ष्यसहित सह–पाठ्यक्रम गतिविधिलाई निरन्तर अघि बढाइरहेको छ।”

हालै सम्पन्न प्याब्सन नगरस्तरीय लोकनृत्य प्रतियोगितामा जुनियरतर्फ प्रथम स्थान हासिल गर्नुका साथै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएको हरैंचा मोडेल सेकेण्डरी स्कुल सुन्दरहरैंचाको दक्षिणी भेगकै एक अब्बल शिक्षालयका रूपमा परिचित बन्दै गएको छ। विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीको प्रतिभा विकासमा थप जोड दिने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *