सुनसरीमा जघन्य अपराध बढ्दो ,लागूऔषध र बलात्कारका घटना उच्च, तीन वर्षमै अपराधको ग्राफ उकालो

सुनसरी — सुनसरी जिल्लामा पछिल्ला वर्षहरूमा जघन्य प्रकृतिका अपराध तीव्र रूपमा बढ्न थालेपछि जिल्लाको शान्ति सुरक्षा अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले लागूऔषध, बलात्कार तथा अन्य गम्भीर अपराधका घटनामा उल्लेख्य वृद्धि भएको देखाएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म मात्रै जिल्लामा ४४४ वटा जघन्य अपराधका मुद्दा दर्ता भइसकेका छन्। आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी रहेकाले यो सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ। प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा ३४१ वटा जघन्य मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या बढेर ५५० पुगेको थियो। लगातार बढ्दो अपराध दरले सुनसरीमा सामाजिक सुरक्षा र जनचेतनासम्बन्धी चिन्ता थप गहिरिँदै गएको देखिएको छ।

पछिल्लो समय जिल्लामा सबैभन्दा बढी चुनौती लागूऔषध कारोबार र प्रयोगले सिर्जना गरेको प्रहरीले जनाएको छ। कुल जघन्य अपराधमध्ये आधाभन्दा बढी हिस्सा लागूऔषधसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ। विगत दुई वर्षमा क्रमशः २४१ र ४६० वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएकोमा चालु आर्थिक वर्षको ११ महिनामै ३४६ मुद्दा दर्ता भइसकेका छन्। खुला नेपाल–भारत सीमाको दुरुपयोग, अवैध ओसारपसार तथा सहरी क्षेत्रका युवामा बढ्दो दुर्व्यसन यसका मुख्य कारणका रूपमा हेरिएको छ।

महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटना पनि जिल्लामा गम्भीर समस्याका रूपमा देखिएका छन्। अघिल्ला दुई आर्थिक वर्षमा क्रमशः १०६ र ८१ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका थिए। चालु आर्थिक वर्षको वैशाखसम्म मात्रै ७४ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भइसकेका छन्। यस्ता घटनाले समाजमा असुरक्षा र त्रास बढाएको भन्दै सरोकारवालाले रोकथामका लागि प्रभावकारी अभियान आवश्यक रहेको बताएका छन्।

यद्यपि, हत्या जस्ता गम्भीर अपराधमा भने प्रहरीले अनुसन्धान र कानुनी कारबाहीमा सक्रियता देखाएको जनाएको छ। चालु वर्ष दर्ता भएका १६ वटा कर्तव्य ज्यान मुद्दा फर्स्योट भइसकेका छन्।यसबीच, विगतका वर्षको तुलनामा डकैती तथा चोरीका घटनामा भने केही कमी आएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

प्रहरीका अनुसार सुनसरीमा अपराधको स्वरूप परिवर्तन हुनुमा खुला सीमा, अव्यवस्थित सहरीकरण, बेरोजगारी तथा युवा पुस्तामा बढ्दो लागूऔषध दुव्र्यसन प्रमुख कारण बनेका छन्। लागूऔषधको सहज पहुँचले अन्य अपराधलाई समेत बढावा दिएको प्रहरीको निष्कर्ष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *