संघर्षबाट सेवा विस्तारसम्म: सुन्दरहरैंचामा निलकण्ठ फार्मेसी तथा डाग्नोष्टिकको सुरुवात, रक्तदानमार्फत सामाजिक सन्देश
एलएन गच्छदार
मोरङ — सुन्दरहरैंचा नगरपालिका–१ मा “निलकण्ठ फार्मेसी तथा डाग्नोष्टिक” को औपचारिक शुभारम्भ भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको उक्त संस्थाको उद्घाटनसँगै रक्तदान कार्यक्रम आयोजना गरिनु यस कार्यक्रमको विशेष आकर्षण बन्यो।
स्थानीय समाजसेवी, बुद्धिजीवी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईंले उद्घाटन गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तारमा निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताए। उनले यस्ता संस्थाले स्थानीयस्तरमै गुणस्तरीय सेवा उपलब्ध गराई नागरिकको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै, वडा नं. १ का अध्यक्ष राम विश्वास र वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रूपमा स्वास्थ्य पूर्वाधार विस्तार आजको आवश्यकता भएको उल्लेख गर्दै निलकण्ठ फार्मेसी तथा डाग्नोष्टिकले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने धारणा राखे।
संस्थाका सञ्चालक दयाराम खवासले व्यक्तिगत संघर्षबाट उभिएको यो पहल केवल व्यवसाय नभई सामाजिक सेवाको अभियान भएको बताए। “हाम्रो पहिलो प्राथमिकता बिरामीको उपचार हो, बिल तिर्नु त्यसपछि मात्रै आउँछ,” उनले भने, “आर्थिक अवस्थाका कारण कसैले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो प्रतिबद्धता हो।” उनले संस्थामा विशेषज्ञ चिकित्सक सेवा समेत उपलब्ध गराइएको जानकारी दिँदै गुणस्तरीय र विश्वासिलो उपचार प्रदान गर्ने लक्ष्य रहेको स्पष्ट पारे।
उद्घाटनसँगै आयोजना गरिएको रक्तदान कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिता देखिएको थियो। “रक्तदान जीवनदान” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रममा संकलित रगतले आपतकालीन बिरामीहरूको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आधुनिक सेवा र बिरामीमैत्री व्यवस्था
निलकण्ठ फार्मेसी तथा डाग्नोष्टिकले आधुनिक उपकरणसहितको प्रयोगशाला सेवा उपलब्ध गराएको छ, जहाँ रगत, पिसाब, दिसा लगायतका विभिन्न परीक्षणहरू एकै स्थानमा गरिन्छ। अनुभवी तथा दक्ष स्वास्थ्यकर्मीमार्फत सेवा प्रदान गरिने यस संस्थामा गुणस्तरीय औषधि उचित मूल्यमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ।
छिटो र भरपर्दो रिपोर्ट प्रणाली, बिरामीमैत्री वातावरण तथा परामर्श सेवा यस संस्थाका प्रमुख विशेषता रहेका छन्। साथै, विशेषज्ञ चिकित्सकमार्फत परामर्श तथा उपचार सेवा र आपतकालीन अवस्थाका लागि आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै सामाजिक उत्तरदायित्वसमेत बहन गर्दै सुरु गरिएको यो पहलले सुन्दरहरैंचा क्षेत्रका बासिन्दामा सकारात्मक सन्देश प्रवाह गरेको छ।
