१९औँ गणतन्त्र दिवस आज : लोकतान्त्रिक व्यवस्थाको ऐतिहासिक यात्राको स्मरण
काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज १९औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदै छ ।वि.सं. २०६५ साल जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाको बैठकले सदियौँ पुरानो निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यही ऐतिहासिक निर्णयसँगै नेपाली जनताले आफ्नो सार्वभौम अधिकार पूर्ण रूपमा स्थापित गरेका थिए ।
तत्कालीन नेकपा (माओवादी) को दशक लामो सशस्त्र आन्दोलन, सात राजनीतिक दलको संयुक्त जनआन्दोलन तथा जनदबाबपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६३ साल वैशाख ११ गते प्रत्यक्ष शासन अन्त्य गर्दै सत्ता जनतालाई फिर्ता गरेका थिए । त्यसपछि पुनःस्थापित संसद्बाट संविधानसभा निर्वाचनको प्रक्रिया अघि बढाइएको थियो ।
संविधानसभा निर्वाचनपछि बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यसयता प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाइँदै आएको छ ।
दिवसको अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा विशेष समारोह, प्रभातफेरी, सांस्कृतिक कार्यक्रम तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएका छन् ।
