चौथो सुन्दरहरैंचा मेयर गोल्डकप जेठ १६ देखि, विजेतालाई ४ लाख पुरस्कार
सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा–१२ स्थित सुक्रबारे खेल मैदानमा “चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२” आयोजना हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित सञ्चालन हुन लागेको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न पालिकाका टोलीहरूको सहभागिता रहने आयोजक सुन्दरहरैंचा नगर खेलकुद विकास समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
नगर खेलकुद विकास समितिका सदस्य सचिव खडग श्रेष्ठका अनुसार प्रतियोगिताको उद्घाटन खेल जेठ १६ गते दिउँसो ३ बजे बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिका बीच हुनेछ ।
त्यसैगरी जेठ १७ गते सुन्दरहरैंचा नगरपालिका र बेलका नगरपालिका आमनेसामने हुनेछन् भने जेठ १८ गते केराबारी गाउँपालिका र शिवसताक्षी नगरपालिका बीच प्रतिस्पर्धा हुनेछ । जेठ १९ गते लेटाङ नगरपालिका र इटहरी उपमहानगरपालिका बीच खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सेमिफाइनल खेलहरू जेठ २० र २१ गते दिउँसो ३ बजे हुनेछन् भने फाइनल खेल जेठ २३ गते शनिबार आयोजना गरिनेछ । प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी टोलीहरू:
• बेलबारी नगरपालिका, मोरङ
• पथरी शनिश्चरे नगरपालिका, मोरङ
• केराबारी गाउँपालिका, मोरङ
• शिवसताक्षी नगरपालिका, झापा
• सुन्दरहरैंचा नगरपालिका, मोरङ
• बेलका नगरपालिका, उदयपुर
• लेटाङ नगरपालिका, मोरङ
• इटहरी उपमहानगरपालिका, सुनसरी
स्थानीय तहका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने प्रतियोगितामा खेलप्रेमी दर्शकको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको कुल लागत करिब १७ लाख रुपैयाँ रहने तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने नगर खेलकुद समन्वय समिति सचिव खडग श्रेष्ठले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै सुन्दरहरैंचा नगर प्रवक्ता तथा वडा नं. १२ का अध्यक्ष रोशनप्रसाद ढकालले सुन्दरहरैंचालाई खेलकुद हबका रूपमा विकास गर्न सकिने बताए । उनले नगरले यसअघि नै थुप्रै राष्ट्रिय तथा व्यावसायिक खेलाडी उत्पादन गरिसकेको उल्लेख गर्दै नगरभित्र निरन्तर खेलकुद गतिविधि सञ्चालन हुँदै आएको धारणा राखे ।





