‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ सञ्चालनमा, संरचना र बजेट व्यवस्थापनको काम जारी

काठमाडौं । सरकारले मन्त्रालय संख्या घटाउँदै प्रशासनिक सुधार र मितव्ययिताको नीति अघि सारेसँगै गठन गरिएको ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ अहिले सङ्क्रमणकालीन संरचनाबाट सञ्चालन भइरहेको छ । छुट्टै मन्त्रालय स्थापना भए पनि भवन व्यवस्थापन, संगठन संरचना र बजेट प्रणालीको काम अझै अन्तिम चरणमा पुगेको छैन ।

गत ३० वैशाखमा सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको थियो । सोही क्रममा शिक्षा मन्त्रालयअन्तर्गत रहेको विज्ञान–प्रविधि क्षेत्रलाई अलग गर्दै नवप्रवर्तनसम्बन्धी कार्य थपेर नयाँ मन्त्रालय गठन गरिएको हो ।

सुरुवाती चरणमा भने यस्तो मन्त्रालय गठन गर्ने विषय सार्वजनिक रूपमा आएको थिएन । सरकारले मन्त्रालय संख्या १७ मा सीमित गर्ने तयारी गरिरहेको चर्चा भइरहेका बेला विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्र उपेक्षित हुन लागेको भन्दै पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महावीर पुन ले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए ।

उनले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारलाई दबाब दिँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए । त्यसपछि आलोचना बढेपछि सरकारले अन्ततः ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ थप गर्ने निर्णय गरेको हो ।

हाल यो मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली मातहतमा रहेको छ । प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालका अनुसार मन्त्रालयले छुट्टै लेटरहेडमार्फत काम सुरु गरिसकेको छ भने साविकको खेलकुद मन्त्रालय रहेको भवनमा संरचना निर्माणको काम भइरहेको छ ।

उनका अनुसार युवा तथा खेलकुदसँग सम्बन्धित कार्यालयहरू अन्य मन्त्रालयमा स्थानान्तरण भएपछि खाली हुने भवनमा नयाँ मन्त्रालय सारिने तयारी छ । हाल विज्ञान–प्रविधिसम्बन्धी महाशाखाका कर्मचारीहरू शिक्षा मन्त्रालयकै परिसरबाट काम गरिरहेका छन् ।

साविकको विज्ञान–प्रविधि महाशाखाका सहसचिव शैलेसकुमार झाले मन्त्रालयको दैनिक प्रशासनिक तथा नीतिगत काम नियमित रूपमा सञ्चालन भइरहेको बताए । उनका अनुसार चालु आर्थिक वर्षको बजेट शिक्षा मन्त्रालयअन्तर्गत रहेकाले हाल पुरानै बजेट प्रणालीबाट खर्च भइरहेको छ ।

आगामी आर्थिक वर्षदेखि भने मन्त्रालयको आफ्नै छुट्टै बजेट प्रणाली लागू हुने तयारी भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । साथै, मन्त्रालयको संगठन संरचना तय गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को कामसमेत अघि बढाइएको छ । सरकारका अनुसार ओएनएम प्रतिवेदन अन्तिम भएपछि सचिव नियुक्ति, दरबन्दी निर्धारण तथा विभागीय संरचना टुङ्गो लाग्नेछ । त्यसपछि मन्त्रालय पूर्ण क्षमतामा सञ्चालनमा आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *