इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, ११ जनाको सफल उद्धार
इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, ११ जनाको सफल उद्धार
इटहरी, सुनसरी – इटहरी उपमहानगरपालिका-६ स्थित सेन्टर प्लाजामा आज बिहान भीषण आगलागी भएको छ। बिहान करिब ९:४३ बजे पाँचौं तलाबाट अचानक आगलागी सुरु भएको थियो।
घटनास्थल इलाका प्रहरी कार्यालय इटहरीबाट करिब ३०० मिटर पश्चिममा पर्ने भएकाले उद्धार कार्य तुरुन्तै सुरु गरिएको थियो। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, र स्थानीय दमकल टोलीको सक्रियतामा आगो नियन्त्रणको प्रयास गरिएको छ।
११ जनाको उद्धार, तीन जना अस्पतालमा उपचाररत
मध्यान्ह १२:०५ बजेसम्म ८ पुरुष र ३ महिलासहित ११ जनाको सफल उद्धार गरिएको छ। तीमध्ये तीन जनालाई उपचारका लागि इटहरी अस्पताल पठाइएको छ। उद्धार गरिएका व्यक्तिहरूको नामावली निम्नानुसार छ:
मेरिका राई (२३) – भोजपुर, आमचोक
लक्ष्मी श्रेष्ठ (२६) – कैलाली
विजय धामी (२६) – सुनसरी, वराहक्षेत्र
विष्णु तामाङ – काभ्रे (उमेर खुल्न बाँकी)
MD JAY – बङ्गलादेश (उमेर खुल्न बाँकी)
सञ्जय जैसवाल (४४) – धनुषा, कमला ९
दिया राय (२४) – मोरङ, विराटनगर-१५ – इटहरी अस्पतालमा उपचाररत
विशाल सिंह (२८) – (दिया रायका श्रीमान्) – इटहरी अस्पतालमा उपचाररत
आशिष चौधरी (२४) – सुनसरी, रामधुनी-७ – इटहरी अस्पतालमा उपचाररत
अन्य दुई व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणमा व्यापक सुरक्षाकर्मी परिचालन
आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी नेतृत्वमा २५ जना प्रहरी तत्काल खटिएका थिए।
थप मद्दतका लागि:
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरबाट ७० जना प्रहरी
जिल्ला प्रहरी कार्यालय, सुनसरीबाट ७० जना प्रहरी
सशस्त्र प्रहरी बल, हेडक्वार्टरबाट ७७ जना सशस्त्र प्रहरी
नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयबाट ७५ जना ट्राफिक प्रहरी
नेपाली सेनाको भगवती दल इटहरीबाट ५० जना सैनिक
नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहबीबाट ५० जना प्रहरी
आगलागी नियन्त्रणका लागि इटहरी, सुन्दरहरैंचा, दुहबी, रामधुनी, धरान, बेलबारी, इनरुवा, वराहक्षेत्र, विराटनगर लगायतका १२ वटा दमकल परिचालन गरिएको छ।
आगोको कारण र क्षतिको विवरण खुल्न बाँकी
अहिलेसम्म आगलागीको कारण स्पष्ट भइसकेको छैन। घटनास्थलमा व्यापक क्षति भएको अनुमान गरिए पनि क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ। जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार आर्थिक तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
