कोशीमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने चेतावनी
विराटनगर । उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण कोशी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन आएको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जनाएको छ।
सोमबार सार्वजनिक गरिएको मौसमी बुलेटिनअनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा दिनभर साधारणतया बदली रहनेछ। प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेकाले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमविद्हरूले वर्षा र चट्याङका कारण कृषि, यातायात तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन्।
कोशी प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा पनि आंशिकदेखि साधारणतया बदली रहने तथा केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ। यता, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यद्यपि, पहाडी क्षेत्रमा वर्षा भइरहँदा तराईका केही भू–भागमा तापक्रम बढ्ने संकेत देखिएको छ। विशेषगरी मधेस, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावाको प्रभाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। महाशाखाले आगामी केही दिन मौसमको अवस्थाबारे नियमित जानकारी लिन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
