क्रसर उद्योग बन्द हुँदा एसियन हाइवे विस्तार प्रभावित, ५० दिनदेखि कालोपत्रे रोकियो
विराटनगर । राष्ट्रिय गौरवको आयोजना मानिएको पूर्व–पश्चिम राजमार्ग (एसियन हाइवे) विस्तारअन्तर्गत काँकरभिट्टा–लौकही सडकखण्डको निर्माण कार्य गिटी तथा बालुवाको अभावका कारण प्रभावित बनेको छ। मोरङका केही क्रसर उद्योग प्रशासनले बन्द गरेपछि करिब ५० दिनदेखि सडक कालोपत्रे गर्ने काम ठप्प भएको निर्माण पक्षले जनाएको छ।
एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण भइरहेको ९५.७६ किलोमिटर लामो सडकखण्डको प्याकेज–१ र प्याकेज–२ अन्तर्गतका कामहरू अहिले निर्माण सामग्री अभावका कारण प्रभावित भएका हुन्। विशेषगरी कालोपत्रेका लागि आवश्यक गिटी उपलब्ध हुन नसक्दा निर्माण कार्यले गति लिन सकेको छैन।
निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका प्रतिनिधि उज्ज्वल प्रसाईका अनुसार दैनिक करिब ५०० मिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिए पनि आवश्यक सामग्रीको अभावले काम रोकिएको छ। उनका अनुसार कम्पनीसँग पर्याप्त बिटुमिन मौज्दात रहे पनि गिटी नपाउँदा दैनिक ८०० घनमिटर अस्फाल्ट उत्पादन प्रभावित भएको छ।
यसको असर प्याकेज–१ अन्तर्गत १५ किलोमिटर तथा प्याकेज–२ अन्तर्गत १० किलोमिटर सडक कालोपत्रे गर्ने योजनामा परेको निर्माण कम्पनीले जनाएको छ।
निर्माण सामग्रीको अभाव समाधान गर्न केही निर्माण कम्पनीहरूले स्थानीय क्रसर उद्योगसँग लिज सम्झौताको प्रक्रिया अघि बढाएका छन्। यस क्रममा चिसाङ क्षेत्रस्थित एक क्रसर उद्योगलाई सञ्चालनमा ल्याउने प्रयास भइरहेको निर्माण पक्षले स्वीकार गरेको छ। यद्यपि उक्त उद्योगको कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन बाँकी रहेको बताइएको छ।
यता, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कानुनी प्रक्रिया पूरा नगरेका कुनै पनि उद्योगलाई सञ्चालन अनुमति नदिइने स्पष्ट पारेका छन्। उनका अनुसार उद्योग दर्ता, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) लगायतका आवश्यक मापदण्ड पूरा भएपछि मात्र सञ्चालनका विषयमा निर्णय लिन सकिनेछ।
आयोजनाको प्याकेज–१ का प्रमुख सुनीलबाबु पन्तले हालसम्म समग्र भौतिक प्रगति करिब २३ प्रतिशत पुगेको जानकारी दिए। उनले कालोपत्रेका लागि आवश्यक आधारभूत संरचना तयार भइसके पनि मुख्य निर्माण चरण रोकिँदा आयोजना सम्पन्न हुने समय र लागत दुवै प्रभावित हुन सक्ने बताए।
निर्माण सामग्री आपूर्ति र कानुनी प्रक्रियासम्बन्धी समस्या समयमै समाधान हुन नसके राष्ट्रिय महत्वको यस आयोजनाको कार्यतालिका थप प्रभावित हुने देखिएको छ।
