दुई नेपाली विद्यार्थीको मृत्युले उजागर गर्‍यो बेलायतको कठोर यथार्थ, मानसिक तनावदेखि बेरोजगारीसम्मको दोहोरो संकट

काठमाडौं । उच्च शिक्षाको सपना बोकेर बेलायत पुगेका नेपाली विद्यार्थीहरू आर्थिक अभाव, मानसिक तनाव, बेरोजगारी र कडा अध्यागमन नीतिको दोहोरो मारमा पर्न थालेका छन्। पछिल्ला दुई नेपाली विद्यार्थीको मृत्युले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्था र उनीहरूले भोगिरहेका चुनौतीलाई फेरि एकपटक सतहमा ल्याएको छ।

महोत्तरीको पिपरा–७, बनौलीका २२ वर्षीय कौशलकुमार ठाकुर गत जुन १८ मा लन्डनस्थित आफ्नै कोठामा मृत फेला परेका थिए। युनिभर्सिटी अफ इस्ट लन्डनमा साइबर सेक्युरिटी विषयको अन्तिम वर्षमा अध्ययनरत ठाकुर केही समयदेखि मानसिक स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको जनाइएको छ। उनको मृत्युको कारण भने अझै खुलेको छैन। उनको शव नेपाल पठाउन एनआरएनए यूकेसहित नेपाली समुदायले ‘गोफण्डमी’मार्फत सहयोग संकलन गरिरहेको छ।

त्यसअघि, उच्च शिक्षाका लागि बेलायत पुगेकी रुपन्देहीकी २९ वर्षीया सिर्जना भुजेलको कोलोन–रेक्टल क्यान्सरका कारण निधन भएको थियो। उपचारकै क्रममा गर्भपतनसमेत गर्नुपरेको उनको शव नेपाल ल्याउन पनि नेपाली समुदायले आर्थिक सहयोग जुटाइरहेको छ।

एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीका अनुसार सन् २०२६ सुरु भएयता मात्रै संस्थाले पाँच जना नेपाली विद्यार्थीको शव नेपाल पठाउन सहयोग गरिसकेको छ भने चार जना घरबारविहीन बनेका विद्यार्थीलाई उद्धार गरेर स्वदेश फर्काइएको छ।

उनका अनुसार कामको अभाव, बढ्दो महँगी, महँगो ट्युशन शुल्क र आर्थिक दबाबका कारण धेरै विद्यार्थी मानसिक तनावको शिकार भइरहेका छन्। केही विद्यार्थीले शुल्क तिर्न नसकेर पढाइ छाड्ने, घरबारविहीन बन्ने र असुरक्षित अवस्थामा बस्न बाध्य हुने अवस्था समेत देखिएको उनले बताए। गलत परामर्शका आधारमा पर्याप्त आर्थिक तयारीबिनै बेलायत पुग्ने प्रवृत्तिले समस्या झन् जटिल बनाएको उनको भनाइ छ।

चेस्टर विश्वविद्यालयका ग्लोबल इम्प्याक्ट तथा अनुसन्धान डीन प्राध्यापक पदम सिम्खडाका अनुसार बेलायतमा हाल करिब २.८६ मिलियन विद्यार्थी अध्ययनरत छन्, जसमध्ये करिब सात लाख अन्तर्राष्ट्रिय विद्यार्थी हुन्। नेपाल बेलायतमा सबैभन्दा धेरै विद्यार्थी पठाउने पाँचौँ मुलुक बनेको छ। सन् २०२५ मा मात्रै १९ हजार ५ सय ५३ नेपाली विद्यार्थीले अध्ययन भिसा पाएका थिए।

यद्यपि अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायती अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याए पनि नेपाली विद्यार्थी आर्थिक दबाब, शैक्षिक समायोजन, रोजगारीको अभाव र व्यावसायिक सञ्जालको कमीका कारण कठिनाइ भोगिरहेका छन्।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले पनि नेपाली विद्यार्थीले विश्वविद्यालय र रोजगारी दुवै क्षेत्रमा समस्या भोगिरहेको बताए। उनका अनुसार शुल्क समयमै तिर्दासमेत केही विश्वविद्यालयले भिसा रद्द गरेका घटनामा दूतावासले हस्तक्षेप गर्नुपरेको छ। घरबारविहीन भएका विद्यार्थीलाई एनआरएनएको सहयोगमा उद्धार गरी नेपाल फर्काउने कामसमेत भइरहेको उनले जानकारी दिए।

यता बेलायत सरकारले अध्यागमन नीतिमा कडाइ गरेपछि अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने विश्वविद्यालयहरू पनि दबाबमा परेका छन्। नयाँ व्यवस्थाअनुसार विद्यार्थी भिसा अस्वीकृत हुने दर बढे विश्वविद्यालयको स्पोन्सर लाइसेन्स नै जोखिममा पर्ने भएकाले धेरै विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा सतर्कता अपनाउन थालेका छन्।

यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीमा पनि देखिएको छ। सन् २०२६ को पहिलो चार महिनामा बेलायतमा विद्यार्थी भिसाका आवेदन अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले घटेका छन्। नेपाली विद्यार्थीको भिसा अस्वीकृत दर पनि सन् २०२४ को २ प्रतिशतबाट सन् २०२५ मा १६ प्रतिशत पुगेको तथ्यांकले देखाउँछ।

रोजगारीको अवसर घट्दै जानु, महँगी बढ्नु र अध्यागमन नीति कडा बन्दै जानुले बेलायत अध्ययनका लागि जाने नेपाली विद्यार्थीको भविष्य थप चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरूको निष्कर्ष छ। उनीहरूले पर्याप्त आर्थिक तयारी, सही सूचना र मानसिक स्वास्थ्यमा विशेष ध्यान दिएर मात्र विदेश अध्ययनको निर्णय लिन विद्यार्थी र अभिभावकलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *