तीन लिटर शुद्ध दूधबाट पाँच गाईसम्म : ईश्वरप्रसादको प्रेरणादायी यात्रा
एलएन गच्छदार / सुन्दरहरैंचा
पथरीशनिश्चरे -३ मा रहेको रामजानकी दुग्ध उत्पादक सहकारी संस्थामार्फत इटहरी-२ मा रहेको कामधेनु डेरीमा दूध बिक्री गर्दै आएका ईश्वरप्रसाद चौलागाईंको गाईपालन यात्रा पनि सहकारीको प्रोत्साहनसँग जोडिएको छ।
नेपाली सेनाबाट सेवानिवृत्त भएपछि ५५ वर्षको उमेरमा गाईपालन सुरु गरेका चौलागाईंले सुरुमा एउटा गाई पालेर दैनिक करिब तीन लिटर दूध उत्पादन गर्दै आएका थिए। उनले प्रतिलिटर ६८ रुपैयाँका दरले दूध बिक्री गर्दै आएका थिए।
रामजानकी सहकारीमार्फत दूध बिक्री गर्ने क्रममा कामधेनुले तीन लिटर शुद्ध दूध ल्याउने किसानका रूपमा उनलाई सम्मान तथा प्रोत्साहन गरेको थियो। सहकारीबाट पाएको त्यो सम्मानले गाईपालनलाई अझ व्यवस्थित र व्यावसायिक रूपमा अघि बढाउने प्रेरणा मिलेको चौलागाईं बताउँछन्।
त्यसपछि उनले गाईपालनमा लगानी थप्दै गए। अहिले करिब ६ लाख रुपैयाँ लगानी गरेर पाँचवटा गाई पालिरहेका चौलागाईंले दूध बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन्।
सानो रूपमा सुरु गरेको पशुपालन व्यवसायलाई विस्तार गर्न सहकारीबाट पाएको बजार, प्रोत्साहन र सहकार्यले आफूलाई हौसला दिएको उनको अनुभव छ।
चौलागाईंले कामधेनुका अध्यक्ष यादव ढकालसँग किसानको उत्पादन लागत घटाउनेतर्फ विशेष ध्यान दिन आग्रह गरेका छन्। विशेषगरी दाना गुणस्तरीय बनाउनुका साथै किसानले धान्न सक्ने मूल्यमा उपलब्ध गराउने कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ।
“दाना गुणस्तरीय हुनुपर्छ। किसानको उत्पादन लागत पनि घट्नुपर्छ। सहकारीले किसानमुखी कार्यक्रम ल्याएर दाना र पशु आहार सहुलियतमा उपलब्ध गराउन सके किसानलाई ठूलो राहत हुन्छ,” चौलागाईंले सुझाव दिएका छन्।
