प्याब्सन सुन्दरहरैचाद्वारा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, २० विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धा
एलएन गच्छदार
सुन्दरहरैचा (मोरङ), असार १४ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर कार्यसमिति सुन्दरहरैचाको आयोजनामा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा नगरभित्रका २० वटा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मोरङका जिल्ला अध्यक्ष जगत बस्नेतले वक्तृत्वकला विद्यार्थीको नेतृत्व क्षमता, तार्किक सोच र आत्मविश्वास विकास गर्ने प्रभावकारी माध्यम भएको बताए। यस्ता सिर्जनात्मक प्रतियोगिताले विद्यार्थीलाई अध्ययनसँगै व्यक्तित्व विकासमा समेत टेवा पुग्ने उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका अध्यक्ष तथा प्याब्सन सुन्दरहरैचाका अध्यक्ष दीपक क्षेत्रीले नगरस्तरमा रहेका विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न र विद्यार्थीमा बोल्ने कला तथा सिर्जनशील क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले प्याब्सनले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
प्याब्सन मोरङका जिल्ला सचिव देवी सिटौलाले विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनका लागि अतिरिक्त क्रियाकलापको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यालयहरूले शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकासमा समेत प्राथमिकता दिनुपर्ने धारणा राखे।
त्यसैगरी प्याब्सन मोरङका वरिष्ठ सल्लाहकार अर्जुन बस्नेतले प्रतिस्पर्धाले विद्यार्थीमा सकारात्मक सोच, आत्मअनुशासन र सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने क्षमता विकास हुने बताए। उनले यस्ता कार्यक्रमले भविष्यका सक्षम नेतृत्व उत्पादनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
प्रतियोगिताको निर्णायक मण्डलमा गोविन्द खनाल, सुकुना बहुमुखी क्याम्पसका सहप्राध्यापक तथा स्किल क्याम्पस इटहरीका कोअर्डिनेटर सुमन पौडेल रहेका थिए। कार्यक्रममा प्याब्सन मोरङका जिल्ला सहसचिव दिपेन राई, बेलबारी नगर अध्यक्ष भगवती प्रसाद घिमिरे लगायत शिक्षा क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा ज्ञानज्योति इङ्ग्लिस स्कुलका अस्मिन पराजुली प्रथम हुन सफल भए। क्वेष्ट सेकेन्डरी स्कुलकी दीप्सना राउत द्वितीय,सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलका समिप कटवाल तृतीय तथा सिद्धार्थ सेकेन्डरी स्कुलकी आराध्या न्यौपाने चौथो स्थान हासिल गर्न सफल भइन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा पुरस्कार प्रदान गरिएको थियो। आयोजकका अनुसार यस्ता शैक्षिक तथा सिर्जनात्मक गतिविधिले विद्यार्थीको क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयबीच आपसी सहकार्य र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।





