विराटनगरका ७८ प्रतिशत महिलासँग आम्दानी छैन, अध्ययनले देखायो गम्भीर सामाजिक–आर्थिक चुनौती
सुनसरी । विराटनगर महानगरपालिकामा बसोबास गर्ने अधिकांश महिलाहरू अझै पनि आर्थिक रूपमा आत्मनिर्भर हुन नसकेको एक अध्ययनले देखाएको छ। महानगरपालिका र इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटको प्राविधिक सहयोगमा गरिएको सर्वेक्षणअनुसार विराटनगरका ७८ प्रतिशत महिलाको कुनै आर्जित आय छैन।
महानगरका १९ वटै वडाका ४१ हजार ४८८ घरधुरीका १ लाख ४९ हजार ८१६ व्यक्तिमा गरिएको अध्ययनले पुरुषको तुलनामा महिलाको आर्जित आय केवल २७ प्रतिशत मात्र रहेको तथ्य सार्वजनिक गरेको हो।
प्रतिवेदनअनुसार विराटनगरमा २१ प्रतिशत महिला अझै पनि निरक्षर छन् भने करिब २० प्रतिशत महिलाको १८ वर्ष नपुग्दै बालविवाह हुने गरेको पाइएको छ। यस्तै, ४४.५ प्रतिशत घरधुरीको नेतृत्व महिलाले गरिरहेको तथ्यांक अध्ययनमा उल्लेख गरिएको छ।
अध्ययनले वडा नम्बर १६, १७, १८ र १९ लाई विकास, साक्षरता तथा आधारभूत सेवाको पहुँचका हिसाबले सबैभन्दा पछाडि परेका परिधीय वडाका रूपमा पहिचान गरेको छ। विशेषगरी वडा नम्बर १७ मा आय नभएका महिलाको संख्या सबैभन्दा बढी ९१ प्रतिशत रहेको छ भने वडा नम्बर १८ मा खाना पकाउन सफा इन्धनको पहुँच ५० प्रतिशतभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ।अध्ययनले महिलामाथि हुने हिंसाको अवस्था पनि गम्भीर रहेको देखाएको छ। धेरै महिलाले विस्तारित परामर्श नपाएसम्म आफू हिंसाको पीडित भएको महसुससमेत नगर्ने अवस्था रहेको प्रतिवेदनमा जनाइएको छ।
कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले महिलासम्बन्धी वास्तविक तथ्यांक अभावमा योजना निर्माण र बजेट विनियोजन गर्न कठिन हुँदै आएको बताइन्। उनले दुई वर्ष लगाएर तयार गरिएको यो अध्ययनले अब महिलाको अवस्था सुधारका लागि नीति निर्माणमा ठोस आधार प्रदान गर्ने विश्वास व्यक्त गरिन्। प्रतिवेदनले महिलाले उत्पादन गरेका वस्तुका लागि स्थायी बजारको अभाव, ऋण लिन धितोको समस्या तथा आधुनिक प्रयोगशालाको कमीलाई मुख्य चुनौतीका रूपमा औंल्याएको छ।
सुधारका लागि महिलाद्वारा उत्पादित वस्तुको स्थायी बजार निर्माण, विना धितो सहुलियतपूर्ण ऋणको व्यवस्था, लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन तथा माध्यमिक तहदेखि नै नैतिक र लैङ्गिक शिक्षा अनिवार्य गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ।
