बालसदनमा सपथ ग्रहण तथा पदस्थापन समारोह सम्पन्न, विद्यार्थी नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण
एलएन गच्छदार / सुन्दरहरैंचा
मोरङको सुन्दरहरैंचा–९ स्थित बालसदन एकेडेमी मा विद्यार्थी नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने उद्देश्यले हाउस क्याप्टेन, स्कुल क्याप्टेन, भाइस क्याप्टेन तथा जुनियर–सिनियर नेतृत्व टोलीको सपथ ग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा नवनिर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
विद्यालयमा केही दिनअघि लोकतान्त्रिक निर्वाचन प्रक्रियामार्फत विद्यार्थी नेतृत्व चयन गरिएको थियो । निर्वाचन प्रक्रियालाई व्यवस्थित, मर्यादित तथा निष्पक्ष बनाउन निर्वाचन आयुक्तको भूमिकामा किस्मत थापा सक्रिय रहेका थिए ।
निर्वाचन आयुक्त थापाले विद्यार्थीहरूलाई सानैदेखि लोकतान्त्रिक अभ्यास, मतदान अधिकार तथा नेतृत्व चयन प्रक्रियाबारे व्यवहारिक ज्ञान दिन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले निर्वाचन प्रक्रियामा विद्यार्थीहरूको उत्साह, अनुशासन तथा सहभागिता प्रशंसनीय रहेको उल्लेख गरे ।
समारोहमा विद्यालयका संस्थापक प्रिन्सिपल निरज ढकाल ले विद्यार्थी जीवनमा नेतृत्व विकास अत्यन्त आवश्यक रहेको बताए ।
उनले भने, “विद्यालय केवल शैक्षिक ज्ञान दिने संस्था मात्र होइन, विद्यार्थीलाई जिम्मेवार, अनुशासित र नेतृत्वदायी नागरिक बनाउने थलो पनि हो । यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, निर्णय क्षमता र उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ ।”
त्यस्तै विद्यालयका संस्थापक प्रबन्ध निर्देशक सुर्य दंगाल ले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षासँग जोड्दै भविष्यका सक्षम नेतृत्व उत्पादन गर्ने उद्देश्यले विद्यालयले यस्ता गतिविधिलाई प्राथमिकता दिएको बताए ।
उनले भने, “आजका विद्यार्थी नै भोलिका राष्ट्रका नेतृत्वकर्ता हुन् । त्यसैले सानैदेखि लोकतान्त्रिक संस्कार, सहकार्य, अनुशासन र नेतृत्व क्षमताको विकास गराउन आवश्यक छ । विद्यालयले पढाइसँगै व्यवहारिक जीवन उपयोगी सीप विकासमा पनि विशेष ध्यान दिँदै आएको छ ।”
समारोहमा नवनिर्वाचित हाउस क्याप्टेन, स्कुल क्याप्टेन, भाइस क्याप्टेन तथा जुनियर–सिनियर प्रतिनिधिहरूलाई सपथ ग्रहण गराइएको थियो । उनीहरूले विद्यालयको अनुशासन कायम राख्ने, विद्यार्थी हितमा काम गर्ने तथा जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । सपथ ग्रहण तथा पदस्थापन समारोहले विद्यालय परिसरमा उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो ।
विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार, सक्षम तथा नेतृत्वदायी नागरिकका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।





