प्रदेश–१ कांग्रेस संसदीय दलको नेताका लागि तीन जनाको मनोनयन दर्ता

इटहरी । नेपाली कांग्रेस प्रदेश नम्बर–१ संसदीय दलको नेताका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ । आज हुने निर्वाचनका लागि बिहीबार तीन जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।कांग्रेस प्रदेश–१ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र नेता केदार कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीका अनुसार अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनीताकुमारी गुरुङ रहेका छन् ।थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई तथा कार्कीको प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शमशेर राई रहेका छन् । 

दलको नेतामा दाबी गर्दै आएका कांग्रेसका केन्द्रीय सदस्य पराजुली थापाको समर्थक बसेका हुन् ।अर्याल संविधानसभा सदस्य तथा मोरङ क्षेत्र नम्बर–५ ‘ख’बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । प्रदेश सभापति थापा समानुपातिक सांसद हुन् ।

 कार्की मोरङ–६ ‘ख’बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पनि छन् । अर्याल संस्थापन (सभापति शेरबहादुर देउवा) समूह, थापा कृष्णप्रसाद सिटौला समूह र कार्की संस्थापनइतर (शेखर कोइराला) समूहका नेता हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ