झापामा बाढीले २,५०० बालबालिका र ४,५०० घरपरिवार प्रभावित
बनियानी (झापा) — अविरल वर्षापछि आएको बाढीले झापामा करिब दुई हजार ५०० बालबालिका र चार हजार ५०० घरपरिवार प्रभावित भएका छन्।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री र पुस्तकको व्यवस्था भइरहेको छ।
सबैभन्दा बढी तीन हजार ४०० घरपरिवार झापा गाउँपालिकामा प्रभावित भएका छन्। झापा गाउँपालिका–१ र २ का करिब १,७०० बाढीपीडितलाई राहत प्याकेज वितरण गरिएको प्रशासनले जनाएको छ।
बाढीले कृषि, पशुपालन र पूर्वाधारमा क्षति पुर्याएको छ। रोग फैलिन नदिन स्वास्थ्य टोली प्रभावित क्षेत्रमा खटिएको छ भने पानी शुद्धीकरण र खानेपानी ट्याङ्की स्थापना भइरहेको छ।
‘एकका लागि एक अभियान’सँग सहकार्यमा जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गरिरहेको छ। करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री प्राप्त भइसकेको छ, जसले करिब दुई हजार परिवारलाई सहयोग पुग्नेछ।
यसैबीच, बाढीले कनकाई नगरपालिकामा करिब चार करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। कनकाई माई नदीले २५ बिघा जमिन कटान गरेको र ८ सय मिटर सडक क्षतिग्रस्त भएको नगरपालिकाले जनाएको छ।
