मकवानपुरको भीमफेदीमा पिकअप भ्यान १०० फिट तल खस्दा चालक र इन्जिनियरको मृत्यु
हेटौंडा । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) क्षेत्रमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारमा सडकबाट करिब १०० फिट तल खोलामा खसेर भएको दुर्घटनामा चालक र एक इन्जिनियरको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप दुर्घटनामा परेको थियो। दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी करिब ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए। बुढाथोकी नेपाली सेनाका पूर्व हवल्दार तथा गाडी चालक थिए भने यादव फास्ट ट्र्याक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए।
दुर्घटनाको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र नेपाली सेनाको काठमाडौं–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थलमा पुगेको थियो। टोलीले दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो।
गम्भीर अवस्थामा अस्पताल ल्याइएका दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। उनीहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ। प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
